काठमाडौं । सरकारदेखि नियामकबाट सेयर बजारप्रति सकारात्मक सन्देश प्रवाहित भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले छलाङ मारेको छ । अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डबाट बजारलाई स्थिर बनाउन आफूहरुले कदम चाल्ने अनौपचारिक रुपमा जानकारी गराएसँगै बजार चम्किएको हो ।
मंगलबार अर्थमन्त्री जनार्दन शर्माले सेयर बजार घटाउन र बढाउन अर्थमन्त्रीको कुनै भूमिका नरहने भन्दै बजारमा देखिएका समस्याहरु समाधान गर्न अग्रसर भएको र बजारलाई स्थिर बनाउन आफू लागिपरेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भीष्मराज ढुंगानाका बारेमा गठिन न्यायिक समितिको प्रतिवेदन बुझ्दै पुँजी बजारका बारेमा आफू सचेत रहेको बताएका थिए ।
अर्कोतिर गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैकहरुका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर ब्याजदर वृद्धिमा होडबाजी नगर्न र त्यस्तो भए केन्द्रीय बैंकले हस्तक्षेप गर्ने सन्देश प्रवाहित गराएका थिए । त्यस्तै, पुँजी बजारको नियामक धितोपत्र बोर्डमा धर्ना दिइरहेका सेयर लगानीकर्ताहरुलाई बजारका समस्या समाधान गर्न बोर्ड व्यवस्थापन लचिलो रहेको र अध्यक्ष आउनासाथ समस्या समाधान गरिने आश्वासन दिएको सन्देश प्रवाहित भएको थियो । बोर्डले बैंकका सहायक कम्पनीहरुलाई धितोपत्र दलाल व्यवसायी (ब्रोकर)का लागि अनुमति दिने प्रक्रिया पनि धेरै अघि बढिसकेको जानकारी दिएका थिए ।
यसअघि अर्थमन्त्री सेयर बजारका बारेमा नकारात्मक टिप्पणी गरेको, सेयर धितो कर्जामा कडाइ र ब्याजदर वृद्धिको बहाना, बोर्डको अनावश्यक टिक्का टिप्पणीलाई आधार मानेर सेयर बजार सूचक निरन्तर घटाइएको थियो ।
सबै क्षेत्रबाट एक पछि अर्को गर्दै सकारात्मक सन्देश प्रवाहित भएपछि लगानीकर्तामा उत्साह जागेको छ । र बजार बाउन्स ब्याक भएको छ । मंगलबार तीब्र उतारचढावका बीच बजार सूचक खच्किएर २६१५ सम्म पुगेको थियो । त्यसपछि बजार तीब्र उछालिएर २७६६ अंकमा पुगेपछि अन्तिम समयमा बजार सम्हालिएर २७१२ मा रोकिएको थियो ।
बुधबार प्रि ओपन कारोबारमै २७१९ मा पुगेको थियो । त्यसपछि उच्च दरको वृद्धि र न्यून गिरावट कायम गर्दै १०४.८८ बिन्दूले बढेर २८१६.९५ अंकमा रोकिएको छ । यद्यपि, कारोबारको मध्य समयमा सूचक २८१९ सम्म चढेको थियो । यसअघि भदौ २१ गते अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई फोन गरेर बजारका समस्या समाधान गर्न भनेको आशय सन्देश बिहानै प्रवाह भएपछि १६१ अंकको वृद्धि देखिएको थियो । त्यही किसिमको विज्ञप्ति अर्थमन्त्रालय साँझ जारी पनि गरेको थियो ।
त्यसअघि २० गते नेप्से १४७ अंकसम्म घटेपछि सम्हालिँदै १०८ अंकले घटेको थियो । तर, पछि अर्थमन्त्री शर्माले आफूले सेयर बजारका बारेमा कसैसँग केही कुरा नगरेको प्रतिनिधि सभामा बताएपछि बजार थप ओरालो लागेको थियो । त्यसपछि नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाको कार्यक्रममा सेयर बजारका बारेमा आफूलाई नबोल्न भनिएको र हावा भरिएको बेलुनजस्तै सेयर बजार फुलेको त होइन भनेर प्रश्न गरेसँगै बजार तीब्र ओरालो लागेको थियो ।
बुधबार १३ वटा कम्पनीमा पूर्णसर्किट र १२ वटा कम्पनीमा ९ प्रतिशतभन्दा बढीको सर्किट लेवलमा कारोबार भएको छ । १८४ कम्पनीको सेयर मूल्य बढ्दा १ कम्पनीको सेयर मूल्य स्थिर छ भने कुनै पनि कम्पनीको सेयर मूल्य घटेको छैन् । यद्यपि, ४ वटा डिबेञ्चर म्युचुअल फण्डको मूल्यमा भने झिनो गिरावट देखिएको छ ।
बजारले छलाङ हाने पनि कारोबार रकममा सुस्तता देखिएको छ । यसले लगानीकर्ता अझै बजार माथि जाने आशा राख्दै सेयर बिक्री गर्न मुठी कसेका छन् । उता खरिदकर्ताले बढेको मूल्य सकेसम्म नहाल्ने प्रपञ्च गर्दा कारोबार बढ्न सकेन ।
अब बजारले थप उचाइ लिने संकेत पनि गरेको छ । न्यून बिन्दूबाट उछालिएको बजारमा सेयर कारोबार कित्ता र रकम घटनुले लगानीकर्ताहरु थप मौका कुरेका छन् । बुधबार १ करोड २१ लाख २२ कित्ता सेयर किनबेच हुँदै ६ अर्ब १७ करोड ९३ लाख रुपैयाँ कारोबार भएको छ । मंगलबार ७ अर्ब ३७ करोड र सोमबार ८ अर्ब ४९ करोडको सेयर किनबेच भएको थियो ।