काठमाडौं । लामो समयपछि लगानीकर्ता वाणिज्य बैंकतर्फ आकर्षिक भएका छन् । वर्षौदेखि केही पनि प्रतिफल नदिने कम्पनीमा मात्रै भुम्मिएका लगानीकर्ता विस्तारै वाणिज्य बैंकतर्फ सिफ्ट भएको देखिएको छ ।
अहिले माछापुच्छ्रे र सानिमा बैंकले लाभांश घोषणा गरिसकेका छन् । अन्य वाणिज्य बैंकले पनि लाभांश स्वीकृतिका लागि केन्द्रीय बैंकमा पठाएका छन् । अबको केही दिनभित्र सबै वाणिज्य बैंकको लाभांश आउने भएपछि लगानीकर्ताहरु त्यतातिर आकर्षित भएका हुन् ।
१३ वटा समूह सूचकमध्ये ११ वटा समूह सूचक घटेका छन् । तर, वाणिज्य बैंक समूहको ४७.३७ अंक बढेको छ । त्यसैगरी, फाइनान्सको पनि ८.२ अंक बढेको छ । बाँकी सबै समूह सूचकहरु घटेका छन् ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई जथाभावि रुपमा ब्याजदर नबढाउन निर्देशन दिएको, धितोपत्र बोर्डले पुँजी बजार सुधारका लागि आवश्यक तयारी गरेको लगायतका समाचार बाहिरिएपछि सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार १०४ अंकले बढेको थियो । साताको अन्तिम दिन बिहीबार भने २.७० अंकले बजार बढेर २८१९.६५ बिन्दूमा पुगेको छ ।
बिहीबार ७ अर्ब ७२ करोड रुपैयाँ कारोबार भएको छ । बुधबारको तुलनामा बिहीबार कारोबार रकममा सुधार आएको छ । बुधबार ६ अर्ब १७ करोड ९३ लाख रुपैयाँ कारोबार भएको थियो ।

विगत केही समयदेखि लगानीकर्ता कम्पनीको वित्तीय अवस्था राम्रो भएका सूचकहरुमा लागेका थिएनन् । वर्षौंदेखि प्रतिफल नदिएका, कम्पनीको वित्तीय विवरण राम्रो नभएका कम्पनीमा आकर्षित भइरहेका थिए । तर, अब लगानीकर्ताले खराब वित्तीय विवरण भएका कम्पनीका सेयर बेचेर बैंकतिर फर्किएका छन् ।
केन्द्रीय बैंकले बढाएको ब्याज घटाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएका खबरहरु सार्वजनिक भएकाले पनि बजार सकारात्मक बन्न सहयोग पुगेको विश्लेषकहरु बताउँछन् । यस्तै, निरन्तर घटेको बजारमा सेयर भाउ निकै सस्तो भएको थियो । कतिपय कम्पनीको भाउ त करिब १ वर्षअघिकै अवस्थामा झरेको थियो । भाउ सस्तो भएकाले पनि लगानीकर्ताहरु आकर्षित भएको अनुमान गरिएको छ ।
यस्तै, अर्थमन्त्रीले आफ्नो बोलीका कारण सेयर बजार घटबढ हुन नहुने र बजार आफ्नै विधि र लयमा चल्नुपर्ने बताएकाले पनि लगानीकर्ताको मनोविज्ञानमा सकारात्मक प्रभाव परेको अनुमान गरिएको छ । नेप्सेमा बुल रन सुरु भएयताकै ठूलो करेक्सनपछि बजार फेरि लयमा फर्किन सुरु गरेको हो । ११ सय विन्दुबाट बढ्न थालेको बजार विभिन्न सानातिना उतारचढाव हुँदै ३२ सय आसपासमा पुगेको थियो । त्यसपछि फेरि बजारमा करेक्सन सुरु भएको थियो ।

बजारले फेरि सकारात्मक लय समाएको छ । अब पनि बजार उतारचढाव हुँदै माथिल्ला विन्दुहरुमा पुग्ने अनुमान गरिएको छ । यो लाभांशको सिजन हो । सूचीकृत कम्पनीहरुले गत वर्षको मुनाफाबाट धमाधम लाभांश घोषणा गर्न थालेका छन् । कोरोना कहरका बीचमा पनि सूचीकृत कम्पनीहरुले औसतमा नाफा वृद्धि गरेका छन् । उनीहरुले अब लाभांश घोषणा गरेपछि साधारणसभा बोलाउनेछन् ।
सभाबाट पारित भएपछि लगानीकर्ताको खातामा लाभांश पठाउने कार्य सुरु हुनेछ । यसर्थ, लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनीहरु छनोट गरेर लगानी गर्न सक्नुपर्छ । कम्पनीका महत्वपूर्ण सूचकहरु पनि ख्याल गर्नुपर्छ ।