काठमाडौं । देशमा भारतीय रुपैयाँ (भारु)को चरम अभाव देखिएको छ । दसैंको मुखमा भारु अभाव हुनुलाई गम्भीर मानिएको छ । भारु बिक्री घटेर खरिदकर्ता मात्रै बढेपछि बैंकहरूसमेत केन्द्रीय बैंक धाइरहेका छन् ।
बैंकहरूले भारु खोज्न आउनेलाई आफूहरूसँग भारु नभएकाले केन्द्रीय बैंक जान सुझाएका छन् । पछिल्लो समय केन्द्रीय बैंकले पनि विभिन्न बहाना बनाएर बैंकहरूलाई भारु दिन छोडेको छ । विगतमा बजारमा भारु नभएपछि बैंकहरू केन्द्रीय बैंकबाट ल्याएर भए पनि आफ्ना ग्राहकलाई खाली हात पठाउँदैनथे ।
बैंकरहरूले आफ्न्त तथा असल ग्राहकलाई मात्रै भारु दिने गरेकाले उद्देश्य अनुरुप काम नभएपछि केन्द्रीय बैंकले बैंकहरूलाई मागेजति भारु
दिन छोडेको हो । सर्वसाधारणहरूलाई भारु चाहिएमा केन्द्रीय बैंकमै पुग्नुपर्ने भएको छ । यद्यपि केन्द्रीय बैंकले यसअघि पनि भारु सटही गर्दै आएको छ ।
राष्ट्र बैंकले भारु व्यवस्थापन गर्न ठूलो रकम खर्चनुपर्छ । खासगरी डलर बिक्री गरेर नेपालमा आवश्यक भारु व्यवस्थापन गर्दै आएको छ । भारुको अत्यधिक माग आएपछि केन्द्रीय बैंक सतर्क हुँदै बैंकहरूले भने जसरी भारु दिन नसकिने जनाएको हो ।
गत साउनदेखि नै नेपालमा भारुको अत्यधिक माग भएको थियो । गत साउनमा राष्ट्र बैंकले ४२ करोड अमेरिकी डलर बिक्री गरेर ३१ अर्ब २५ करोड २४ लाख भारु खरिद गरेको थियो । जबकी अघिल्लो साउनमा ३२ करोड डलर खर्चेर २३ अर्ब ९८ करोड २ लाख भारु खरिद गरेको थियो । गत वर्षभरि भारु व्यवस्थापन गर्न केन्द्रीय बैंकले ४ अर्ब ५४ करोड डलर खर्चेर ३ खर्ब ३४ अर्ब ५१ करोड ५७ लाख भारु किनेको थियो ।
‘बैंकहरूलाई केन्द्रीय बैंकले भारु उपलब्ध नगराएको महिनौं भइसक्यो । बैंकमा ५ हजार रुपैयाँ भारु माग्नेलाई पनि केन्द्रीय बैंक नै पठाउनुपर्ने बाध्यता छ,’ एक बैंकरले भने, ‘केन्द्रीय बैंकमा ५ हजार भारु लिनका लागि अनेकन झमेला खेप्नुपर्छ ।’ केन्द्रीय बैंकले उपभोक्ताले सहज रुपमा भारु पाउन सकून भन्ने उद्देश्य राख्नुपर्ने हो । तर, यहाँ सर्वसाधारणलाई दुःख दिने नियतले केन्द्रीय बैंक अघि बढेको ती बैंकरले बताए ।
राष्ट्र बैंकका सूचना अधिकारी नारायण पोखरेलले बैंकहरूलाई भारु दिन कडाई नगरेको बताए । ‘केन्द्रीय बैंकबाट भारु दिन कुनै कडाई गरेको जानकारी आफूलाई आएको छैन,’ उनले भने, ‘दसैंका बेला नयाँ नोट बाँड्नुपर्ने दबाब बैंकमाथि छ । कर्मचारी अभावका कारण बैंकहरू आफैंले भारु दिन नसकेका हुन सक्छन् ।’
केन्द्रीय बैंकको बुझाईमा नेपालमा भारु साटेर धेरै विकृति निम्तिएको छ । बैंकहरूले धमाधम भारु लैजाने तर, त्यो रकम सर्वसाधारण त परै जाओस्, आफ्ना कर्मचारीले समेत नपाउने अवस्था आएपछि केन्द्रीय बैंकले कडाइ गरेको हो ।
केन्द्रीय बैंकले विद्यार्थी, बिरामी, घुम्न जानेका लागि भारु उपलब्ध गराउँदै आएको छ । बैंकलाई दिन भने कडाई गरेको हो । अहिले नेपालमा २५ हजार भारुसम्म बोेकेर हिँड्न पाइन्छ ।