काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै अमेरिकी सेना त्यसका लागि तयार रहेको र इरानलाई लक्षित गरी प्रहार गर्न एक हजार क्षेप्यास्त्रहरू पूर्ण तयारी अवस्थामा राखिएको बताएका छन्।
सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले इस्लामिक गणतन्त्र इरानमाथि क्षेप्यास्त्र ताकेर पूर्ण तयारी अवस्थामा राखिएक जनाए। त्यसलगत्तै हजारौँ थप क्षेप्यास्त्रहरू प्रहार गरिने उनले बताए।
यसैबीच, इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकाले समझदारी पत्रको उल्लंघन गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल एक्समा गरिएको एक पोस्टमा उनले इरानले अहिलेसम्म आफ्नो प्रतिवद्धता पालना गर्दै आएको र यो उल्लंघन अमेरिकाद्वारा गरिएका अन्य उल्लंघन र गलत कदमहरूको शृङ्खलाकै एक हिस्सा भन्दै यसमा दुवै पक्षको पालना अनिवार्य हुने बताए।
अल जजिराका अनुसार इरानी संसदका सभामुख मोहम्मद बाघेरी घालीबाफले तेहरान अमेरिका सामु कहिल्यै नझुक्ने बताउँदै यदि अमेरिकाले समझदारी पत्रको उल्लंघन गरेमा आफ्नो रक्षा गर्न पूर्ण रुपमा तयार रहने बताए।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीले इरानका रक्षकहरूले अमेरिकाको गतिविधिलाई निगरानीमा राखिरहेको बताए। गर्मीको मौसमको प्रवाह नगरी, इस्लामिक गणतन्त्र इरानका सशस्त्र बलमा आबद्ध वीर रक्षकहरू देशका तट, टापु, सीमाना र अन्य संवेदनशील क्षेत्रहरूमा तैनाथ अमेरिकी गतिविधिलाई निगरानी गरिरहेको उनले प्रष्ट पारे।
यसैबीच, अल जजिराका अनुसार, अमेरिकी उच्च अधिकारीहरूले अमेरिका र इरानबीचको वार्ता फलदायी रहेको बताएका छन्। अमेरिकाले भने इरानसँग सम्झौता हुनका लागि केही सर्तहरू पूरा हुनु पर्ने बताउँदै पहिलो सर्त इरान आणविक सर्तहरू मान्न सहमत हुनुपर्छ र सबै आणविक सामग्रीहरु हस्तान्तरण गर्नु पर्ने अडान गर्दै आएको छ।