काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पूंजीबजारको अस्थिरता प्रति चासो देखाएको छ । केही समय यताको नीतिगत अस्थिरताका कारण पूँजीबजारमा उतार चढाव आएको भन्दै त्यस सम्बन्धी सरोकार निकायहरुको ध्यानाकर्षण गराएको छ ।
महासंघले विज्ञप्ती जारी गर्दै मूल्य जस्तो संवेदनशील विषयमा अन्य निकायहरुको हस्तक्षेप हुनु, बैँक तथा वित्तिय र बिमा कम्पनीहरुको लगानी सीमालाई संकुचन गरिनु, शेयर धितो कर्जामा लगाईएको एकल ग्राहक कर्जा सीमा तोक्नु, सूचिकृत कम्पनीले आफ्नो आवश्कता अनुसार हकप्रद तथा अन्य विधिबाट पूँजी संकलन गर्न रोक लगाउनु, विद्युत नियमन आयोगबाट संस्थागत लगानीकर्ताले खरीद बिक्री गर्दा १५ दिन अगाडि नै स्वघोषणा गर्नु पर्ने व्यवस्था जस्ता विभिन्न नीतिगत परिवर्तनको कारण शेयरबजारमा असर परेको जनाएको छ ।
शेयर बजार परिसूचक घटबढ हुने क्रममा भदौ पहिलो साता यता समग्रमा पूंजी बजार ओरालो लागेको उल्लेख गर्दै यसले आम लगानीकर्तालाई समेत सशंकित बनाएको जनाएको छ । महासंघले उक्त नीतिगत व्यवस्थाहरुको तत्काल संशोधन एवं परिमार्जन गर्नुपर्नेमा समेत जोड दिएको छ ।
पूंजी बजार सम्बन्धी नीति नियम बनाउंदा सरोकारवालाहरुसंग पनि छलफल र विमर्श गर्न महासंघ समेत सम्बन्धित सबैमा आग्रह गरेको छ ।
साथै पुंजी बजारमा जोखिम पनि रहने हुंदा लगानीकर्ताहरुलाई कारोबार गर्न खोजेको कम्पनी बारेको वित्तीय लगायतका आवश्यक जानकारी हासिल गरी विवेकपूर्ण लगानी गर्न र संस्थागत लगानीकर्ताहरुको संख्या विस्तार आवश्यक रहेको औल्याएको छ ।
बजार व्यवस्थित बनाउन आवश्यक अन्य नीतिगत व्यवस्था, पर्याप्त सूचना प्रवाह हुने संयन्त्रको निर्माण, प्रविधिको उच्चतम प्रयोग र नयां लगानीका साधन एवं उपकरण बढाउन पनि महासंघ सम्बन्धित निकायसमक्ष माग गरेको छ ।