काठमाडौं । सेयर बजार सूचकमा हरियाली देखिए पनि कारोबार रकममा कुनै सुधार आउन सकेका छैन । कारोबार रकम दिन प्रतिदिन घटिरहेको छ । सोमबार ३ अर्ब ६२ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा मंगलबार झन घटेको छ ।
कुनै समय प्रतिघण्टा नै ५ अर्ब रूपैयाँभन्दा बढीको कारोबार हुने गरेको थियो । गत बिहीबार ३ अर्ब ७० करोडको कारोबार भएको थियो । कारोबार रकममा उल्लेखीय सुधार नआउँदासम्म बजार बढे पनि टिक्न धौ-धौ हुन्छ । बढेको सेयर सूचकलाई कारोबारले टेवा दिएपछि मात्रै बजार दिगो हुने विश्लेषकको भनाइ छ ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६ अंकले बढ्दा कारोबार रकम ३ अर्ब हाराहारी मात्रै पुगेको छ । कारोबार रकममा कुनै सुधार नआउँदासम्म बजार स्थिर भएको मान्न नसकिने लगानीकर्ताको बुझाइ छ ।
कारोबार रकम बढ्न नसक्नुको कारण धेरै लगानीकर्ता सेयर किन्न चाहन्दैनन् । बजार घटे पनि कारोबार रकम बढ्यो भने त्यसले बजारमा सकारात्मक सन्देश प्रवाह गर्छ । तर, यहाँ कारोबार घटेर बजार बढेको छ । त्यसलाई राम्रो मानिन्दैन ।
विशेषगरी पछिल्लो समय केन्द्रीय बैंकले लिएको नीतिका कारण बजार बेस्सरी पेनिक हुने अवस्थामा आएको हो । सीसीडी रेसियो हटाएर सीडी रेसियो कायम गरिँदा बैंकिङ प्रणालीमा चरम रुपमा तरलता अभाव भएको छ ।
तरलता अभाव भएपछि ब्याजदर बढेको छ । यसको असर सेयर बजारमा परेको छ । बजार अझै घट्छ भन्ने त्रासका कारण नयाँ तथा साना लगानीकर्ताले आत्तिएर सेयर बिक्री गरे । जसका कारण बजारले थप क्षति व्यहोर्नुपरेको हो । बजारलाई अझै बिग्रिन नदिन र लगानीकर्ताको मनोविज्ञान सुधार्न तत्काल सुधारका काम अघि बढाउनुपर्ने देखिन्छ ।
विगतमा लिइएको गलत नीतिलाई तत्काल परिवर्तन गर्नुपर्ने देखिएको छ । यसमा अर्थमन्त्री र प्रधानमन्त्रीले समेत हस्तक्षेप गर्नुपर्ने अवस्था आइसकेको छ । पुँजी बजारलाई थप क्षति हुन नदिन लगानीकर्ताका संगठनहरु पनि ऐक्यबद्ध हुन आवश्यक छ । सशक्त हिसाबले बजारका मुद्दा अघि सारेर सोहीअनुसार अघि बढ्न आवश्यक देखिएको छ । लगानीकर्ताहरु पनि बजारप्रति सकारात्मक हुन जरुरी छ । घटेको बजार बढ्छ भन्ने आत्मविश्वास जागृत गराउनुपर्ने हुन्छ ।

लाभांशको समय चलिरहेको छ । अब सूचीकृत कम्पनीहरुले धमाधम साधारण सभा बोलाउन थाल्नेछन् । त्यसपछि लगानीकर्ताको खातामा लाभांश पठाउनेक्रम सुरु हुनेछ । यसआधारमा अहिले सेयर होल्ड गर्न सके अब केही समयभित्रै लाभांश हात पार्न सकिनेछ । यसर्थ, आम लगानीकर्ता यस्तो बेलामा पेनिक हुनु हुँदैन । आफ्नो होल्ड गर्न सक्ने क्षमतासमेत अध्ययन गरेर विवेकपूर्ण निर्णय लिन जरुरी हुन्छ ।
