काठमाडाैं । विभिन्न ५५ ओटा कम्पनीको विदेशी लगानीको लेखाङ्कन र आर्जित नाफाबाट वितरण भएको लाभांश रकम विदेश लैजान रोकिएको छ ।
कम्पनीहरुले पूर्ण विवरण नबुझाएपछि उनीहरुको विदेशी लगानी लेखाङ्कन र लाभांश फिर्ता लैजान रोकिएको हो । नेपाल राष्ट्र बैङ्कले बोलाउँदा पनि ५५ कम्पनीहरु सम्पर्कमा नआएको विदेशी विनियम विभागकी कार्यकारी निर्देशक सरिता भट्ट, अधिकारीले बताइन् ।
राष्ट्र बैङ्कले साउन ४ गते ती कम्पनीलाई सम्पर्कमा आउन एक महिनाको सूचना जारी गरेको थियो । निर्धारित समय सकिँदासम्म ती कम्पनीहरु सम्पर्कमा नआएको राष्ट्र बैङ्कले जनाएको छ ।
राष्ट्र बैङ्कका अनुसार डाबर नेपाल प्राइभेट लिमिटेड, सोलु हाइड्रोपावर कम्पनी प्रालि, करुणा नेपाल प्राली, द ह्वाइट याक प्रालि, चितवन मेडिकल कलेज, नेपाल हाइड्रो एन्ड इलेक्ट्रिकलगायत ५५ कम्पनी छन् ।
केही कम्पनी सोधपुछका लागि आउने गरेपनि अधिकांश नआएको उनले बताइन् । राष्ट्र बैङ्कले विदेशी लगानी नेपालमा ल्याएर गरेको नाफाबाट प्राप्त लाभांश डलरमा लैजान पेश गर्नपर्ने कागजात पेश नभएको, विदेशी लगानीको लेखाङ्कन गर्दा स्रोत नखुलेको, लगानी भित्रिएको प्रमाण स्पष्ट नभएको, मुद्रा भित्रिएको बैङ्क प्रमाणपत्र तथा कागजात माग गरिएकामा पेश नभएको जनाएको छ ।
यस्तै कम्पनीको सेयर लागतमा लगानीकर्ताको नाम उल्लेख नभएको, सेयरधनीबीच विवादलगायत प्रक्रिया नपुगेको भन्दै ती कम्पनीको लाभांश रोकेको हो ।
कतिपय कम्पनीले कुन बैङ्कमार्फत लगानी भित्रिएको हो, सो को जानकारी नगराएको पाइएको छ । ती कम्पनीको लगानी उद्योग विभागको स्वीकृति पूर्व नै भित्रिएको, मुद्रा भित्रिएको बैङ्कको प्रमाण नभएको र लगानीको स्रोत नखुलाएपछि रोकिएको अधिकारीले स्पष्ट पारिन् ।
कम्पनीकाे सूची हेर्न यहाँ क्लिक गर्नुहाेस्