काठमाडौं। चिनियाँ विद्युतीय सवारी साधन (ईभी) उत्पादन गर्ने ठूलो कम्पनी बिवाईडीले हंगेरीका पूर्वविदेश तथा व्यापार मन्त्री पिटर सिजारतोलाई कार्यकारी पदमा नियुक्त गरेको छ। सिजारतोले जुलाई १५ मा आफ्नो संसदीय पदबाट राजीनामा दिँदै बिवाईडीमा आबद्ध हुन लागेको घोषणा गरेका हुन्।
उनी सन् २००२ देखि हंगेरीको राष्ट्रिय सभाका सदस्य थिए। सन् २०१४ देखि यस वर्षको मे महिनासम्म विदेश तथा व्यापार मन्त्रीका रूपमा कार्यरत थिए। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू विश्वका अग्रणी कम्पनीमध्ये एक बिवाईडीमा ‘अत्यन्त प्रतिष्ठित’ अन्तर्राष्ट्रिय भूमिकामा प्रवेश गरेको बताएका हुन्।
‘बिवाईडी पछिल्लो २० वर्षमा अटोमोबाइल उद्योगका सबैभन्दा सफल कम्पनीमध्ये एक हो। नयाँ ऊर्जा सवारी उत्पादनमा विश्वकै अग्रणी कम्पनी हो,’ उनले भनेका छन्, ‘आजदेखि म समूहको बाह्य सम्बन्ध तथा नयाँ व्यवसाय विस्तारको जिम्मेवारी सम्हाल्ने कार्यकारीका रूपमा काम गर्ने छु।’
उनको नियुक्तिले हंगेरी र चीनबीच विद्युतीय सवारी उद्योगमा बढ्दो रणनीतिक साझेदारीलाई थप बल पुगेको विश्लेषण गरिएको छ। बिवाईडीले सन् २०२४ मा हंगेरीको दक्षिणी सहर सेगेडमा आफ्नो पहिलो युरोपेली विद्युतीय सवारी उत्पादन केन्द्रको निर्माण सुरु गरेको थियो। त्यसपछि कम्पनीले युरोपमा आफ्नो उपस्थिति निरन्तर विस्तार गर्दै आएको छ।
गत वर्ष हंगेरी सरकार र बिवाईडीबीच रणनीतिक सहकार्यसम्बन्धी सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार बुडापेस्टमा बिवाईडीको युरोपेली मुख्यालय स्थापना गर्नुका साथै नयाँ अनुसन्धान तथा विकास (आरएन्डडी) केन्द्र पनि खोल्ने योजना अघि बढाइएको छ।
सम्झौताका क्रममा तत्कालीन प्रधानमन्त्री भिक्टर ओर्बानले नयाँ प्रविधि र उपभोक्ताको बदलिँदो मागका कारण विश्व अटोमोबाइल उद्योग नयाँ चरणमा प्रवेश गरिरहेको बताएका थिए। उनले विद्युतीय सवारी प्रविधिमा चीनको अग्रणी भूमिकाले हंगेरीको आर्थिक विकासलाई गति दिने र नयाँ अटो प्रविधिको युगमा देशलाई अग्रपंक्तिमा उभ्याउने विश्वास व्यक्त गरेका थिए।
यसै वर्ष अप्रिलमा प्रधानमन्त्री माजियारीले पनि बिवाईडी, सीएटीएललगायतका ठूला लगानीकर्तासँग स्थानीय हंगेरी उद्योगलाई साझेदार बनाउने लक्ष्य रहेको र यसबाट दुवै पक्षलाई लाभ पुग्ने बताएका थिए। हाल बिवाइडीले हंगेरीमा वार्षिक तीन लाख सवारी उत्पादन क्षमता भएको कारखाना निर्माण गरिरहेको छ। साथै, बुडापेस्टमा आफ्नो युरोपेली मुख्यालय पनि स्थापना गर्दैछ।
त्यसैगरी चिनियाँ ईभी कम्पनी नियोले हंगेरीमा ब्याट्री स्वापिङ स्टेसनको उत्पादन तथा अनुसन्धान केन्द्र स्थापना गरिसकेको छ। ईभी आपूर्ति शृङखलातर्फ सीएटीएल, ईभीई इनर्जी र सनवोडा जस्ता प्रमुख ब्याट्री उत्पादक कम्पनीहरूले पनि हंगेरीमा ब्याट्री उत्पादन कारखाना निर्माण गरिरहेका छन्।