काठमाडौं । पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाहरुले धमाधम वित्तीय पहुँच विस्तार गर्दै आएका छन् । वित्तीय सेवा विस्तार गर्दै जाँदा बैङ्कका शाखारहित केन्द्रको सङ्ख्या पनि विस्तारै बढ्दै गइरहेको छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार आर्थिक वर्ष २०७५/७६ को असार मसान्तससम्म बैङ्क तथा वित्तीय संस्थाका शाखारहित केन्द्रको सङ्ख्या १ हजार २ सय ८५ पुगेको छ । आर्थिक वर्ष २०७४/७५ मा यस्ता केन्द्र एक हजार ८ ओटा मात्रै थिए । एक वर्षको अन्तरालमा शाखारहित बैङ्किङ केन्द्रको सङ्ख्या २ सय ७७ ओटा थपिएको राष्ट्र बैङ्कले जनाएको छ ।
के हो शाखारहित बैङ्किङ ?
शाखारहित बैङ्किङ सेवा बैङ्कको शाखा नभएका विभिन्न स्थानमा सरल तथा सहजरूपमा वित्तीय पहुँच पु¥याउन ल्याइएको एक अवधारणा हो । यसअन्तर्गत बैङ्कको सेवा नपुगेका स्थानमा बैङ्कका तर्फबाट स्थानीय व्यापारी वा सेवाग्राहीलाई अभिकर्ताका रूपमा सम्झौता गरिन्छ र सर्वसाधारणलाई बैङ्किङ सेवा दिइन्छ । शाखारहित बैङ्किङ सेवाबाट मुलुकका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैङ्किङ सेवा लिन सक्छन् ।
यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, सुविधा पाउँछन् । अन्य उपयोगी सेवा जस्तैः टेलिफोन, मोबाइल, एडीएसएल, डिस होम तथा बत्तीको महसुललगायत विभिन्न किसिमका भुक्तानी पनि गर्न सक्छन् ।
यस्तै सेवाग्राहीले स्वीकृत सीमाभित्र रही कर्जासम्बन्धी कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैङ्क स्टेटमेन्ट प्राप्त गर्ने लगायतका सुविधा प्राप्त गर्न सक्छन् ।