काठमाडौं । ब्याजदर वृद्धिमा नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेपछि एक दिन बढेको सेयर बजार दोस्रो दिन नै ओरालो लागेको छ । कात्तिक लागेसँगै बैंकहरुले नयाँ ब्याजदर प्रकाशित गरेपछि १ र २ गते बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४७ अंकले घटेको थियो ।
तर, राष्ट्र बैंकले २ गते साँझ निर्देशन जारी गर्दै ब्याजदर घटाउन र बढाउनै परे यसअघि कायम ब्याजदर १० प्रतिशत मात्रै घटाउने व्यवस्था गर्न र संस्थात निक्षेपको ब्याजदर व्यक्तिगत निक्षेपको भन्दा १ प्रतिशत विन्दुले कम हुनुपर्ने निर्देशन दिएको थियो ।
राष्ट्र बैंकको निर्देशनलाई धेरैले खुला बजार अर्थनीतिको विपरीत भनेर अथ्र्याइरहेका छन् । राष्ट्र बैंकको निर्देशनपछि बुधबार ६० अंकले बढेको नेप्से बिहीबार भने १४.७ अंकले घटेर २५५६.९६ विन्दुमा झरेको छ । बिहीबार प्रिओपनिङ कारोबारमा सामान्य बढेकोमा कारोबारको १५ मिनेटभित्र २५८५ विन्दुसम्म नेप्से पुगेको थियो । तर, कारोबार सुरु भएको आधा घण्टाको बीचमा नेप्से सूचक २५४४ अंकसम्म झर्न पुग्यो ।
त्यसपछि पनि निरन्तर वृद्धि र घट्नेक्रम जारी रह्यो । यो द्धन्द्धमा नेप्से सूचकले सुरुवाती उच्च विन्दु र न्यून विन्दुलाई भने पच्छाएन । र, अन्तिममा बजार घटेर बन्द भयो । ब्याजदर घट्यो भनेर बुधबार लगानीकर्ताहरु उत्साहित देखिए पनि बिहीबार त्यस्तो अवस्था रहेन ।
खासगरी लगानीकर्तामा वियरिस ट्रेन्ड सुरु भएको मनोभाव सूचीकृत कम्पनीहरुले अपेक्षाकृत लाभांश घोषणा नगर्नु, तत्काल ब्याज नबढे पनि आगामी दिनमा बढ्न सक्ने संभावना कायमै रहनु, बजारमा तरलता अभावको स्थिति रहनु खासगरी सेयरधितो कर्जामा गरिएको कडाइ खुकुलो नहुने आशयका सन्देश निरन्तर प्रभावित हुनुले लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् ।
अर्कोतिर सीमित तथा ठूला भनिएका लगानीकर्ताहरुले बजार घटेर २२०० अंकसम्म आउने दाबी सामाजिक सञ्जालहरुमा गर्नु र ब्रोकरहरुले पनि सेयर कारोबारमा उत्सुकता नदेखाउँदा अझै बजार सूचक ओरालो लाग्नु आशंका कायमै हुँदा लगानीकर्ताको मनोवल उकासिन सकेको छैन । यसले बजार घटाउन मद्दत गरेको छ ।
बिहीबार ३० कम्पनीले कमाउँदा १५१ कम्पनीका लगानीकर्ताले गुमाए । यसदिन सबैभन्दा बढी कमाउनेमा मेरो लघुवित्त वित्तीय संस्थाका सेयरधनी छन् । अन्तिम समयमा १० प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको छ ।
त्यसपछि सिटिजन्स म्युचअलफण्ड २ का लगानीकर्ताले ५.२६ प्रतिशतले कमाएका छन् । उता जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा बढी सेयर मूल्य ५.८७ प्रतिशतले घटेको छ ।
कुल २ अर्ब ६३ करोड रुपैयाँको सेयर किनबेच भएको बिहीबार सबैभन्दा बढी सेयर कारोबार भने सानिमा बैंकको २७ करोड १२ लाख ९७ हजार रुपैयाँ बराबरको छ । यो बिहीबारको कारोबार सोमबारयताकै कम हो ।