विराटनगर । फुजिमा आयल कम्पनीले उत्पादन गरेका कुनै पनि बस्तुको उपभोग पश्चात आएका समस्याको क्षतिपुर्ति दिने भएको छ । कम्पनीले आफ्ना उत्पादन प्रयोग गरेपछि कुनै समस्या आएर प्रमाणित भएमा बिमामार्फत क्षतिपूर्ति दिने कम्पनीको निर्देशक सुबोध कोईरालाले जानकारी दिए ।
विदेशी कम्पनीले आफ्नो उत्पादन प्रयोग गरेवापत समस्या आएमा क्षतिपूर्ति दिने व्यवस्था भए पनि नेपालमा आफ्नो कम्पनी पहिलो भएको उनको भनाई छ । कम्पनीले १ करोड रुपैयाँसम्मको बिमा गर्ने उनको भनाई छ । एक वर्षको पहलमा बिमा समिति सहमत भएको बताउँदै कोईरालाले हिमालयन इन्स्योरेन्स मार्फत बिमा गरिने जानकारी दिए ।
फुजिमाले कन्ट्रोल लुब्रिकेन्ट्स, म्याजिक प्लस लुब्रिकेन्ट्स र रोयल लुब्रिकेन्ट्स उत्पादन गरिरहेको छ । ‘कन्ट्रोल लुब्रिकेन्ट्स, म्याजिक प्लस लुब्रिकेन्ट्स र रोयल लुब्रिकेन्ट्स तथा ग्रिजको उपभोक्ताले प्रयोग गरेपछि कुनै समस्या आएमा कम्पनीको उत्पादनले नै भएको प्रमाणित भएमा त्यसको क्षतिपूर्ति हामीले इन्स्योरेन्स कम्पनी मार्फत गदिर्नेछौं’, उनले भने, ‘नेपालको लुब्रिकेन्ट्स र ग्रिज उत्पादन गर्ने कम्पनीहरु मध्य क्षतिपुर्ति दिने नेपालको पहिलो उत्पादन कम्पनी हाम्रै भएको छ ।’
भारत लगायतका अन्य मुलुकका साथै नेपालकै अन्य कम्पनीभन्दा फुजि कम्पनीका उत्पादनहरु गुणस्तरीय रहेको निर्देशक कोईरालाको भनाई छ । भारत तथा अन्य मुलुकको उत्पादन प्रयोग गर्दा नेपाली उपभोक्ता ढुक्क हुने अवस्था नरहेकाले स्वदेशी उत्पादन उपभोक्ताले निर्धक्क प्रयोग गरुन भन्ने उदेश्यले उत्पादन पछिको अवस्थाको समेत बिमा गरिएको कोईरालाले बताए ।
२०५२ सालमा स्थापना भएको फुजिमा आयल कम्पनीले तीन तरिका उत्पादनको विभिन्न किसिमका गरी २ सय भन्दा बढी प्रोडक्ट उत्पादन गर्दै आएको छ । बार्षिक ३५ सय लिटर लुब्रीकेन्ट्सको कारोबार कम्पनीले गर्ने गरेको छ ।
विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्न गाह्रो
धेरै मानिसहरुले विदेशि लुब्रीकेन्ट्स प्रयोग गर्ने गरेका छन् । गाडी बनाउनेहरुले पनि विदेशी लुब्रिकेन्ट्स नै किनेर ल्याउनु भन्छन् । तर नेपाली उत्पादन विदेशी भन्दा गुणस्तरीय भएको कोईराला बताउछन् । ‘गुणस्तरीय भएर नै आज हामी निरन्तर चलिरहेका छौं’, उनले भने, ‘हाम्रो उत्पादन बढीरहेको छ, बिमा समितिले बिमा गर्न मान्यो, हामी यति आग्रह गछौं प्रयोग नगरि नबोल्दिनुस्, एक पटक प्रयोग गरेर हेर्नुस अनि गुणस्तरीय छ छैन थाहा पाउनुहुनेछ ।’
अझै नेपाली बजार ६५ प्रतिशत लुब्रिकेन्ट्स विदेशी उत्पादनले ओगटेको छ । नेपाली उत्पादन ३५ प्रतिशत मात्र छ । ‘नेपाली बजारमा २० अर्ब लिटर लुब्रिकेन्ट्सको आवश्यकता छ भनिएको छ, तर यती चाहिन्छ भनेर एकिन तथ्यांक छैन’, कोईरालाले भने ।
उत्पादन क्षमता थोरै छ । कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्छ । भन्सार दर महंगो भएकाले पनि स्वदेशी उत्पादन महंगो पर्ने उनले बताए । सरकारले लुब्रिकेन्ट्सको कच्चा पदार्थमा लगाएको भन्सार दर शुन्य अर्थात ५ प्रतिशतमा झारे पनि उत्पादन खर्च कम हुने र उत्पादन सस्तो पर्ने उनले बताए ।
सरकारले नीतिगत रुपमा लुब्रीकेन्ट्स उत्पादक उद्योगलाई सहयोग गर्ने हो भने सिमेन्ट, रड र पेन्ट्समा जस्तै लुब्रिकेन्ट्समा पनि नेपाल आत्मनिर्भर हुने उनको भनाई छ । सरकारको राजस्व पनि बढ्ने उनको दावी छ ।
अहिले लुब्रिकेन्ट्सको कच्चा पदार्थ भारत लगायतको देशबाट आउने गरेको छ । सरकारले कच्चा पदार्थमा १५ प्रतिशत भन्सार लिने गरेको र उत्पादित लुब्रीकेन्ट्स आयात गर्दा ३० प्रतिशत भन्सार लिने गरेको कोईरालाले बताए ।
१५ प्रतिशतको फरकमा आफुहरुको उत्पादन कष्ट बढी लाग्ने हुँदा उत्पादित बस्तुको गुणस्तर अनुसारको मूल्य लिन नसकिएको उनको भनाई छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि सरकारले कच्चा पदार्थको भन्सार दर घटाउनुपर्नेमा उनले जोड दिए ।