काठमाडौं । निजी क्षेत्रको लगानीबाट साना र ठूला गरी ८४ ओटा जलविद्युत् आयोजना सम्पन्न भई ५८३ मेगावाट बिजुली उत्पादन भएको छ । विदेशी र नेपाली लगानीबाट यो परिमाणको बिजुली उत्पादन सम्भव भएको हो ।
विदेशी लगानी अन्तर्गत ६० मेगावाटको माथिल्लो खिम्ती, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ए र ४५ मेगावाटको माथिल्लो भोटेकोसी आयोजना छन् । खिम्तीमा नर्वेको स्ट्याट क्राफट, मर्स्याङ्दीमा सिनो हाइड्रो कर्पोरेशन र भोटेकोसीमा अमेरिकाको हर्जा इन्टरनेसनलको लगानी छ ।
निजी लगानीमा न्यूनतम ४० किलोवाटदेखि ६० हजार किलोवाट अर्थात ६० मेगावाटसम्म बिजुली उत्पादन भएको छ । सरकार र निजी क्षेत्रबाट गरी जडित क्षमता बढेर १ हजार २०५ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।
६२२ मेगावाट विद्युत् प्राधिकरणको लगानीमा निर्माण भएका हुन् । पछिल्लो समयमा विद्युत् प्राधिकरणले आफूले नभई सहायक कम्पनीमार्फत आयोजना निर्माण गरिरहेको छ । प्राधिकरण आफैले निर्माण गरेको १४ मेगावाटको कुलेखानी आयोजनाबाट एक महिनाभित्र बिजुली उत्पादन हुने भएको छ । प्राधिकरणको यो नै अन्तिम आयोजना हो ।
सरकारले २०४९ मा ल्याएको विद्युत् ऐनले जलविद्युतमा निजी क्षेत्रलाई पनि खुला गरेपछि लगानी बढेको हो । पछिल्लो समयमा सरकारले जलविद्युतमा लगानी घटाएर निजी क्षेत्रलाई अघि बढाएको छ ।
गत वर्षसम्म ५६० मेगावाट रहेकोमा चालू आर्थिक वर्ष सुरु भएपछि माउन्टेन हाइड्रो नेपाल लिमिटेडको २२ मेगावाटको तल्लो हेवाखोला आयोजना सम्पन्न भएको छ । यो वर्ष सार्वजनिक र निजी क्षेत्रको गरी १ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ ।
यसबीचमा २२ मेगावाटको माइ, २२ मेगावाटको वाग्मति सानालगायत ठूला आयोजना सम्पन्न भएको विद्युत् प्राधिकरणले जनाएको छ ।


