विराटनगर । सरकारले बनाउन लागेको विशेष औद्योगिक क्षेत्रको बारेमा छलफल हुन थालेको छ । सरकारले सुनसरी जिल्लाको अमडुवामा रहेको करिब ६५० बिघा जग्गामा विशेष आर्थिक औद्यौगिक क्षेत्र निर्माण गर्ने योजना अघि सारेको थियो ।
औद्योगिक क्षेत्र बनाउने विषयमा सरकार उद्योग मन्त्रालयले छलफल अघि बढाएको हो । यसैअनुरुप औद्योगिक क्षेत्र निर्माणको विषयमा बुधबार मन्त्रालयका फोेकल पर्सनहरु र नेपाल उद्योग परिसंघका सदस्यहरुबीच छलफल भएको छ ।
छलफलमा उद्योग मन्त्रालयका विज्ञ टोलिका फोकल पर्सनहरु डा. भागवत रिमाल र ड़ा. सुर्य थापाले परियोजनाको अबधारणाको बारेमा जानकारी दिदै विशेष आर्थिक औद्यौगिक क्षेत्रको निर्माण शुरुवात कसरी गर्ने, निर्माणका लागि के के गर्ने, स्थानीय उत्पादनलाई कसरी प्रोत्साहन गर्ने, समान चासो भएका उद्योग स्थापना, प्राथमिकता, श्रम बजार, प्रस्तावित जग्गाको निर्माण अवधि पुरा नहुन्जेलसम्म संरक्षण गर्ने लगायतका कुराहरुको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले यस प्रदेशको मोरङ र सुनसरीमा विशेष आर्थिक औद्यौगिक क्षेत्रको निर्माण गर्न उद्योगीहरुको धेरै पहिले देखिको प्रयास र माग भएको बताए । सरकारले समयमै निर्माण गर्न सके औद्योगिक क्षेत्रले फड्को पार्ने उनको भनाइ छ ।
‘काम सम्पन्न हुने समय सीमा निर्धारण गर्नुपर्छ’, उनले भने, ‘लगानीमैत्री वातावरण बनाएर लगानीकर्तालाई विश्वासमा लिएर काम गर्न सक्नुपर्छ । औद्योगिक क्षेत्रमा प्रयोग हुने कच्चा पदार्थलाई व्यापारी मालसामानको रुपमा भन्सार लगाउन हुँदैन,करका दरहरु र सरकारको नीति बारम्बार परिवर्तन भैरहने अवस्थाको अन्त्य गरेर लगानीकर्तालाई आश्वस्त बनाउनु पर्ने लगायतका कुराहरुमा ध्यान दिएर अघि बढ्न सके सरकारको काम सफल हुनेछ ।’
छलफल कार्यक्रममा परिसंघका सल्लाकार सुशील धनावत, उपाध्यक्षहरु किसनकुमार अग्रवाल, दीपक पौड्याल, कार्यसमिति सदस्य रिसब दाहाल ,रजत तोदि, निखिल अग्रवाल, साकेत राठी, कर्ण रायमाझी तथा नेपाल उद्योग परिसंघका महानिर्देशक बिजयहरि शर्मासमेतले धारणा राखेका थिए ।