विराटनगर । विराटनगरका फिल्महलमा दर्शकको भिड बढ्न थालेको छ । कोरोना महामारीको जोखिमका कारण सरकारले देश भरिका सिनेमा हलहरु २०७६ चैत ६ गतेदेखि बन्द गरेको थियो । निरन्तर लामो समयसम्म सिनेमा हल बन्द हुँदा कतिपय हलहरु बन्द पनि भएका थिए । कोरोना सामान्य भएपछि साढे २ बर्षपछि असोज पहिलो हप्तादेखि मोरङ प्रशासनले सिनेमा हल सञ्चालनको अनुमति दिएको थियो ।
सिनेमा हल सञ्चालनको अनुमति पाए पनि सुरुमा हल सञ्चालन हुन सकेनन् । चाडपर्वको समयमा फिल्म हेन आउनेको संख्या बढेको छ । विराटनगरमा रहेका तीनवटा सुविधासम्पन्न सिनेमा हल अहिले भरिभराउ हुने गरेका छन् ।
विराटनगरमा २०७५ मंसिरदेखि विराटनगरको मेनरोडस्थित सेन्ट्रल मल्टिप्लेक्स, २०७४ जेठदेखि तिनपैनी चौकस्थित सिटी सिनेमा र २०७६ मंसिरदेखि धरान रोडस्थित भाटभटेनीमा सुपरमार्केटमा क्यूएफएक्स मल्टिप्लेक्स सञ्चालनमा आएको थियो । पछिल्लो ५ वर्षयता सञ्चालनमा आएका यी ३ मल्टिप्लेक्सहरुमा १ हजार दर्शक अट्ने क्षमता छ । सुविधासम्पन्न मल्टिप्लेक्स भएकाले यीनीहरुमा दर्शक भिड लाग्ने गर्दछ ।
यसबाहेक हिमालय, अरुण र बाबा सिनेमा हलहरुको पनि झण्डै २ सय दर्शक अटाउन सक्ने क्षमता छ । लामो समयसम्म हलमा बसेर फिल्म हेर्न नपाएका दर्शकहरु उत्साहजनक रुपमा हलमा फिल्म हेर्न आउने गरेको सञ्चालकहरु बताउछन् ।
सेन्ट्रल मल्टिप्लेक्सका प्रवन्धक रमेश झाका अनुसार सुरुमा फिल्महरु नआएका कारण पनि दर्शकहरु कम आउने गरेका थिए । ‘अहिले फिल्महरु पनि राम्रो राम्रो आएको छ’, उनले भने, ‘दर्शकहरुको भिड पनि बढ्दै छ, पहिलाको अवस्थामा सिनेमा हल फर्किदै छन् । कोरोनाको महामारीको समयमा बेहोर्नु परेका घाटा पनि पिकअप हुँदै गएको छ ।’
घरमा बसेर दिक्क भएका मानिसहरुमा सबै परिवारसँग बसेर फिल्म हेरेर रमाईलो गर्ने चाहना हुने झाको भनाई छ । हल बन्द भएपछि लामो समयसम्म आफ्नो चाहनालाई दवाएर राखेकाहरु यतिखेर हलमा फिल्म हेर्न पाउँदा उत्साहित हुने गरेको उनले बताए ।
दिनको ५ देखि ६ वटा सिफ्ट चल्ने गरेको छ । एक सिफ्टमा २ सय देखि ३ सयसम्म दर्शकहरु हुने गरेको उनले बताए । सरकारले भिडभाड नगर्नु भनेता पनि दर्शकको चाहनालाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड अपनाएर हल सञ्चालन भईरहेको प्रवन्धक झाले क्यापिटल नेपाललाई जानकारी दिए ।
कोरोना महामारीले सबैभन्दा धेरै सिनेमा हललाई असर गरेको सिटी सिनेमाका महाप्रवन्धक शंकर मेहताले बताए । तर त्यो महामारीको असरलाई दर्शकको अहिलेको उत्साहले पूर्ति गर्ने अवस्था रहेको उनको भनाई छ । अहिले टिकटको दर ३२० रुपैयाँदेखि माथि रहेको उनले जानकारी दिए ।
सुतेर पनि चलचित्र हेर्न मिल्ने रिक्लाईनर सिट, डेप्थ क्यू प्रविधि, डोल्बि एटमस साउण्ड सिस्टम तथा टु डी र थ्री डी स्क्रिन लगायतका विशेषतासहित सञ्चालनमा आएका यी हलहरुले दर्शकको मन जितेको छ । अन्य हलहरुमा भन्दा विराटनगरका तीन वटा हलमा बढी दर्शको भिड लाग्ने गरेको छ ।