काठमाडौं । व्यवसाय सञ्चालन गरेको ३० वर्षमा एभरेष्ट ग्यासले पहिलो पटक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । ७ वटा ब्रान्डका एलपी ग्यासको एउटै छाता संगठन एभरेष्टले हाँस्य कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलालाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो ।
व्यवसाय प्रचार–प्रसारका लागि मात्रै ब्रान्ड एम्बेसडर नियुक्त नगरेको एभरेष्ट ग्यासका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । शुक्रबार भएको ब्रान्ड एम्बेसडर घोषणा कार्यक्रममा बोल्दै उनले भने, ‘हामीले व्यवसायको प्रचार गर्न मात्रै एम्बेसडर घोषणा गरेका होइनौं, कलाकारको माध्यमबाट ग्यासको प्रयोग र त्यसका जोखिमबारे जानकारी दिने उद्देश्य हो ।’

साथै तत्काल नेपालमा ग्यासको प्रयोग हटाएर बिजुली प्रयोगको सम्भावना नरहेको उनको भनाइ छ । ‘बिजुली प्रयोग हुनु राम्रो कुरा हो हामी पनि अर्को व्यवसाय गरौंला तर, तत्काल नेपालमा ग्यासको प्रयोग हटाउन सजिलो छैन,’ उनले भने ।
आफू ब्रान्ड एम्बेसडर भएको ब्रान्डको सामान बजारमा देख्न मन लाग्ने र आफूले पनि त्यही प्रयोग गर्ने बानी रहेको ब्रान्ड एम्बेसडर गिरीले बताए । साथै सामानको गुणस्तर हेरेर मात्रै ब्रान्ड एम्बेसडर बन्ने गरेको उनको भनाइ छ ।

‘कस्तो र कतिवटा ब्रान्डको ब्रान्ड एम्बेसडर छ ? त्यसले पनि कलाकारलाई हेर्ने दृष्टिकोणमा फरक पार्छ,’ गिरीले भने । त्यस्तै अरू ब्रान्डमा फरक चर्चा गर्दै आएकोमा पछिल्लो पटक ग्यासको प्रयोगका बारेमा बोल्न पाउँदा खुसी लागेको एम्बेसडर निरौलाले बताइन् ।
एभरेष्ट ग्यासले देशका विभिन्न ७ स्थानबाट त्रिशूल, सैपाल, प्रिमा, साहारा, कामख्यालागायत ७ वटै नामका ग्यास बिक्री वितरण गर्दै आएको छ । हाल २० लाख सिलिन्डर क्षमता तथा ३ हजारभन्दा बढी डिलरसिप छ ।

साथै एभरेष्टले १ करोडसम्मको दुर्घटना बिमासमेत गरेको बताइएको छ । कार्यक्रममा एभरेष्ट ग्यासका निर्देशकहरु सुदीप घिमिरे, सुगम घिमिरे, लोक हर्ष शाक्य निशान भण्डारीलगायतको उपस्थिति थियो ।