बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले इँट्टाभट्टाका चिम्नी डोजर लगाएर भत्काएको छ । असार मसान्तसम्म चिम्नी भत्काउन इँट्टाभट्टा व्यवसायीसँग नगरपालिकाको सम्झौता भएको थियो ।
उक्त सम्झौता कार्यान्वयन गर्न व्यवसायीले अटेर गरेपछि नगरपालिकाले चिम्नी भत्काएको हो । नगरपालिकाले असार मसान्तसम्म भकुण्डे क्षेत्रका अव्यस्थित आठ इँट्टा उद्योग बन्द गर्न सञ्चालकलाई निर्देशन दिएको थियो ।
इँट्टा भट्टाका कारण वातावरण प्रदूषित हुनाका साथै भकुण्डेबेँसी क्षेत्रको जनजीवन कष्टकर बनेको छ । पुस २९ गते नमोबुद्ध नगरपालिका र इँटाभट्टा व्यवसायीबीच २०७६ असार मसान्तभित्र इँट्टा भट्टा हटाउनेबारे आठबुँदे सम्झौता भएको थियो ।
उक्त सहमति कार्यान्वयन नभएपछि नगरपालिकाले चिम्नी भत्काएको हो । “पटक पटक पत्र पठाउँदा पनि चिम्नी भत्काउन मानेनन्”, नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले भने । उनकाअनुसार उद्योगीले इँट्टाभट्टा नहटाएपछि नगरपालिका आफैँले भत्काउन शुरु गरेको हो ।
सम्झौता अनुसार नै चिम्नी भत्काइएको उहाँको भनाइ छ । नगरपालिकाले आइतबार भैरव कुण्ड इँट्टा उद्योग, शिवशक्ति, जय शिवशक्ति, पञ्चकन्या, फुलबारी, शङ्कर र सत्यनारायण उद्योगको चिम्नी भत्काएको हो ।
इँट्टा व्यवसायी लक्ष्मण महर्जनले विस्तारै इँट्टा खाली गर्दै गरेको अवस्थामा नगरपालिकाले चिम्नी भत्काउनु ठीक नभएको बताए । “नगरपालिकाले निर्णय पुनःविचार गरी पाऊँ भन्दै दिएको ज्ञापनपत्र बुझेन, वैकल्पिक ठाउँ नदिएर चिम्नी भत्काउनु ठीक भएन”, उनले भने । यसअघि नमोबुद्ध नगरपालिकास्थित ३१ सङ्घ संस्थाले भकुण्डेमा रहेका इँट्टा उद्योग सञ्चालनमा रोक लगाउन नगरपालिकामा निवेदन बुझाएका थिए ।
असार मसान्तभित्रमा नगरपालिकासँग समन्वय गरी उपयुक्त विकल्प खोजी व्यवसाय सञ्चालन गर्ने, हाल उत्पादित इँट्टा भूकम्पपीडितका लागि सम्बन्धित वडाको सिफारिसमा व्यवसायीले तोकेको मूल्यमा प्रतिइँटा तीन रूपैयाँका दरले दिनुपर्ने, इँट्टा उद्योग आसपासमा रहेको सोती खोला करिडोरको ट्र्याक खोल्न करिडोरको मापदण्ड क्षेत्रभित्र पर्ने संरचना र सामग्री हटाउनुपर्नेलगायत सम्झौता भएको थियो । रासस