काठमाडौं । सरकारलाई उत्पादनमूलक उद्योगको महत्व बुझाउन ‘मेक इन नेपाल स्वदेशी अभियान’ले महत्वपूर्ण भूमिका खेलेको नेपाल उद्योग परिसंघले दाबी गरेको छ ।
परिसंघले मेक इन नेपाल स्वदेशी अभियान चलाएपछि सरकारले उत्पादनमूलक उद्योगलाई हेर्ने दृष्टिकोण फेरबदल गर्दै बजेटबाट स्वदेशी उद्योग र उत्पादन बढाउने नीति अख्तियार गरेको अध्यक्ष विष्णुकुमार अग्रवालले बताए ।
परिसंघले अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको योगदान घट्दै गइरहेका बेला मेक इन नेपाल क्याम्पेन चलाएको र सरकारले पनि त्यसलाई आत्मसाथ गरेर सोही अनुरुप नीति लिएको उनको भनाइ छ ।
अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन बजेटमार्फत स्वदेशी उद्योगलाई थप प्रोत्साहन र उत्साही बनाउने नीति लिनुको पछाडि मेक इन नेपाल स्वदेशी अभियान रहेको प्रष्ट्याए ।
परिसंघ र सरकार मिलेर अहिले मेक इन नेपाल स्वदेशी अभियानलाई कार्यान्वयनमा लगिएको छ । यस अभियानअन्तर्गत ४० वटा उद्योग आइसकेको उनको भनाइ छ ।
परिसंघका उपाध्यक्ष हेमराज ढकालले उत्पादनमूलक उद्योगबाट मात्रै देश आर्थिक रुपमा सम्पन्न र दिगो अर्थतन्त्र निर्माण हुने भएकाले यो अभियानलाई तीब्र रुपमा अघि बढाइएको बताए ।
मेक इन नेपाल स्वदेशी अभियानअन्तर्गत हरेक वर्ष १ लाख ५० हजारलाई रोजगारी दिने, प्रतिवर्ष १ हजार नयाँ उद्योग दर्ता गर्ने, कुल गार्हस्थ उत्पादन (जीडीपी) मा आगामी ५ वर्षभित्र २२ प्रतिशत योगदान र निर्यातलाई ४ खर्ब रुपैयाँ पुर्याउने लक्ष्य रहेको उनले सुनाए । अहिले अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान ५ प्रतिशत मात्रै रहेको छ भने गत आर्थिक वर्षमा निर्यात डेढ खर्ब हाराहारी पुगेको छ ।
अध्यक्ष अग्रवालले उद्योग दर्ता मात्र नभई सञ्चालन गर्नलाई समेत यो अभियानले सहयोग गर्ने बताए । ‘उद्योग दर्ता गरेर मात्रै सफलता हासिल गर्यौ भन्न मिल्दैन्,’ उनले भने, ‘दर्तामध्ये कति उद्योग सञ्चालनमा आए भन्ने पनि महत्वपूर्ण हुन्छ । हामी दर्ता भएका उद्योगमध्ये बढी भन्दा बढी सञ्चालन गर्ने वातावरण पनि बनाउँछौं ।’
परिसंघका उपाध्यक्ष वीरेन्द्र पाण्डेले परिसंघले ३४ वटा लगानीअमैत्री कानुनहरुको पहिचान गरेको र छिट्टै सरकारी अधिकारीसँग यस विषयमा छलफल गर्ने बताए । ‘नेपालमा लगानी विस्तार हुन नसक्नुको कारण नीतिगत समस्या एक हो,’ उनले भने, ‘लगानीलाई निरुत्साहित गर्ने वा लगानी प्रतिकूल कानुनलाई संशोधन वा खारेज गर्न हाम्रोतर्फबाट पहलकदमी भइरहेको र अझै सशक्त हुन्छ ।’
मेक इन नेपाल स्वदेशी अभियानको वेवसाइट र मोबाइल एप सार्वजनिक
परिसंघले राजधानीमा एक कार्यक्रम गर्दै मेक इन नेपाल स्वदेशी अभियानको वेबसाइट र मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । सम्पूर्ण सदस्य तथा उपभोक्ताहरु समेत आफैंले लगइन गरेर साइटभित्र रहेको जानकारी लिन सक्ने गरी वेवसाइट बनाइएको हितेश गोल्छाले बताए ।
उनी वेबसाइटको प्राविधिक र मेक इन नेपाल स्वदेशी अभियानअन्तर्गत आबद्ध उद्योगहरुको गुणस्तरको पक्ष हेर्छन् । उनका अनुसार अहिले नेपाल गुणस्तरबाट एनएस लिएका उद्योगहरुलाई मात्र मेक इन नेपाल स्वदेशीको लोगो दिएको जानकारी दिए ।