काठमाडौं । पछिल्लो डेढ महीनादेखि निकै उतारचढावका बीच कारोबार हुँदै आएको सुनको मूल्य आज स्थानीय बजारमा सामान्य गिरावट आएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा प्रतितोला ९०० रुपैयाँ गिरावट आई प्रतितोला ७२ हजार ६०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाला सुन प्रतितोला ७३ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्यमा पनि प्रतितोला ९०० रुपैयाँका दरले घटेको छ । स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ७२ हजार ३०० रुपैयाँ पुगेको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार २०० रुपैयाँ पुगेको थियो । सुनले नेपाली बजारमा साेमबार कीर्तिमान राखेकाे थियाे ।
सुनको मूल्य केही घटेपनि चाँदीको मूल्य भने यथावत रहेको छ । स्थानीय बजारमा चाँदी प्रतितोला ८६० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।
गत साउनको शुरुआतदेखि नै सुनको मूल्य तीव्र गतिमा उकालो लाग्न थालेको हो । साउन महीनामा सुनको मूल्य प्रतितोला सात हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले वृद्धि भएको थियो ।
भदौ महिना लागेपछि पनि लगातार सुनको मूल्यमा उच्च वृद्धि भइरहेको छ । भदौमा छापावला र तेजाबी सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले वृद्धि भएपनि आज प्रतितोला ९०० रुपैयाँले घटेको हो ।
साउन १ गते छापावाला सुन प्रतितोला ६४ हजार ५०० रुपैयाँ, तेजाबी सुन ६४ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भएको थियो । साउन ३१ र ३२ गते छापावाला सुन प्रतितोला ७१ हजार ५०० रुपैयाँ, तेजाबी सुन ७१ हजार २०० रुपैयाँ तथा चाँदी प्रतितोला ८४० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य सोमबारको तुलनामा केही घटेको छ । मङ्गलबार सुनको मूल्य प्रतिऔँस एक हजार ५३०.३५ अमेरिकी डलर कायम भएको छ । विश्वबजारमा सोमबार सुनको मूल्य प्रतिऔँस एक हजार ५३२.७५ अमेरिकी डलर पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा बढ्दो क्रममा रहेको सुनको मूल्यले स्थानीय बजारलाई दबाबमा राखेको हो । अमेरिकी डलरको दर बढेसँगै सुनको मूल्य पनि प्रभावित भएको हो । चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको विश्लेषकको भनाइ छ ।
सुनको मूल्यमा उतारचढाव देखिएपछि सुनको खपत भने ह्वात्तै घटेको छ । दैनिक २०÷२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय बिक्री ह्वात्तै खुम्चिएको महसङ्घले जनाएको छ । वाणिज्य बैंकमा सुन थुप्रिएको छ । अहिले सुन किन्नेभन्दा पनि गहना बेच्नेको घुइँचो लाग्ने गरेको छ ।