गलकोट । भूपि शेरचन राजमार्गको पर्वत-बेनी सडक दैनिक साढे आठ घण्टा बन्द भएपछिको वैकल्पिक मार्ग ठूला सवारीसाधनका लागि जोखिमपूर्ण देखिएको छ ।
बागलुङ र पर्वत जोड्ने कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको झोलुङ्गे पुलको सहायक जग निर्माण गर्न यही भदौ ५ गतेदेखि बिहान ७ देखि ९ र १० बजेदेखि साढे ४ बजेसम्म पर्वत–बेनी सडक बन्द छ ।
उक्त अवधिमा वैकल्पिक मार्गका रुपमा पर्वतको मालढुङ्गा-बागलुङबजार-म्याग्दीको रत्नेचौर हुँदै बेनीबजारको रुट प्रयोग गर्ने गरिएको छ । तर, उक्त मार्गको बागलुङ बजारदेखि रत्नेचौरसम्मको सडक साँघुरो भएका कारण ठूला सवारीसाधन आवतजावतमा समस्या र सकस भएको सवारी चालक र यात्रु बताउँछन् ।
बागलुङ रत्नेचौरसम्म जम्मा चार मिटर सडक छ भने रत्नेचौरदेखि म्याग्दी बेनी पुग्ने १० किलोमिटर सडक आठ मिटरको छ । साँघुरो सडकमा ठूला सवारी हिँड्दा दोहोरो सवारी जमघट भए पार गर्न नसक्ने र दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक महेन्द्र रानाभाटले बताए ।
यही भदौ ७ गते साँघुरो सडकका कारण रत्नेचौरमा ना ७ ख ९३४४ नंको ट्रक नालीमा खसेको थियो भने सोही दिननै बेनी-बागलुङ जोड्ने कालिका पिउने पानी कम्पनी नजिकैको पुलमा महेन्द्रनगर जाने ना४ख ८१२७ नंको बस पार गर्न निकै सकस भएको ट्राफिक प्रहरीले जनाएको छ ।
यस्तो घटना पछिल्ला दिनमा बढ्दै गएका प्रत्यक्षदर्शी बताउँछन् । सडक साँघुरो भएका कारण दुर्घटना र जाम हुने समस्या बढेपछि ठूला सवारीसाधनलाई वैकल्पिक मार्गको बाटो जान मालढुङ्गाबाटै रोक लगाइएको प्रमुख रानाभाटले बताए ।
“साना सवारी चल्ने सडकमा ठूला सवारीसाधन जाँदा निकै समस्या भएको छ”, उनले, “मालवाहक ट्रकलाई सडक खुलेपछि सोही मार्गबाट पठाएका छाैँ भने साना सवारीलाई वैकल्पिक मार्गको बाटो पठाइएको छ ।”
यही भदौ ५ देखि १३ गतेसम्म पुल निर्माणकार्यलाई गति दिने गरी पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि पर्वतकै जलजला गाउँपालिकाको डमुवाखोलासम्मको सडक बन्द गरिएको छ ।
सो खण्डमा काम गर्दा सडक बाधक बनेका कारण बागलुङ, पर्वत र म्याग्दीका जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरिदिन हिमशिखर कन्ट्रक्सनले आग्रह गरेको थियो । रासस