काठमाडौं । उमेर हदका कारण तीन महिना कार्यकाल सम्पन्न गरी नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का महानिर्देशक राजकुमार क्षेत्री(डीजी)ले यही शुक्रबारदेखि अनिवार्य अवकाश लिने भएका छन् । ५८ वर्षको उमेर हदका कारण उनले तीन महिना मात्र महानिर्देशकका रुपमा जिम्मेवारी लिएर बिदा लिन लागेका हुन् ।
१२औं तहका सबैभन्दा सिनियर रहेका क्षेत्रीलाई मन्त्रिपरिषद्ले महानिर्देशकको रुपमा जिम्मेवारी दिएका थिए । उनको अनिवार्य अवकाश हुने भएसँगै फेरि डीजीका लागि लिगलिगे दौड सुरु भएको छ ।
शुक्रबार अघिनै सरकारले प्राधिकरणको महानिर्देशकको टुंगो नलागएमा निमित्तको जिम्मेवारी भने उपमहानिर्देशक प्रेमनाथ ठाकुरले पाउने भएका छन् । एक साताअघि मात्र १२औं तहमा बढुवा भएका मध्येबाट १ नम्बरमा रहेका ठाकुरलाई निमित्त बन्ने बाटो खुलेको हो ।
प्राधिकरणको सञ्चालक समितिले गरेको बढुवाको आधारमा सबैभन्दा सिनियरमा ठाकुर, दोस्रोमा हंसराज पाण्डे, तेस्रोमा देवचन्द्रलाल कर्ण र चौथोमा गोविन्द दाहाल छन् ।
हुन त प्राधिकरणभित्र उनीहरू बाहेक यसअघि नै १२औं तहमा रहेका दुई जना उपमहानिर्देशकहरू भोला गुरागाई र प्रतावबाबु तिवारी पनि छन् । उनीहरू दुवै प्राधिकरणको केन्द्रीय कार्यालयमा नरहेको कारणले निमित्त नपाउने भएका हुन् । तिवारीभन्दा सिनियर भने गुरागाइ हुन् । उनी हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकका रुपमा कार्यरत छन् भने तिवारी भक्तपुरको ठिमीमा रहेको तालिम केन्द्रमा कार्यरत छन् ।
प्राधिकरणमा हालसम्म सिनियरलाई नै महानिर्देशकको जिम्मेवारी दिँदै आएको छ । तर, हाल रहेका १२औं तह मध्येका सबैभन्दा सिनियर रहेका गुरागाईंको अवकाशका लागि २ महिना मात्र बाँकी छ । यस्तै उनी पछिका तिवारीको भने ५ वर्ष कार्यकाल बाँकिरहेको छ । अहिले गुरागार्इं, तिवारीसँगै एक साताअघि बढुवा भएका ४ जना उपमहानिर्देशक पनि महानिर्देशकको दौडमा छन् ।
महानिर्देशकका लागि पर्यटन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा नाम सिफारिस भएर जानुपर्छ । अहिले पर्यटन मन्त्रालयको भाग नेकपा एकीकृत समाजवादीको भागमा रहेको छ । समाजवादीबाट मन्त्रीको रुपमा प्रेमबहादुर आले रहे पनि सचिव महेश्वर न्यौपाने भने नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक रहेका व्यक्ति हुन् । सचिव न्यौपाने पूर्वउद्योगमन्त्री महेश बस्नेतको निकट रहेका कारणले पनि यो पटक महानिर्देशकको सिफारिस एमाले निकट कर्मचारीहरूको पर्ने आंकलन प्राधिकरण र मन्त्रालय भित्र हुन थालेको छ ।