काठमाडौं । सरकारले देशभित्र लगानीको वातावरण अनुकूल बनेको बताउँदै आए पनि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) घटेपछि सरकारको भनाइ झुट सावित भएको छ ।
सरकारले लगानीमैत्री नीति निर्माण गरेको, एकद्वार नीति ल्याएको, निजी क्षेत्रमैत्री कानून बनाएको बताइरहेका बेला विदेशबाट आउने लगानी घटेपछि सरकारको भनाइ नमिलेको हो ।
नेपाल राष्ट्र बैङ्कका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा नेपालमा १७ अर्ब ५१ करोड रुपैयाँ वैदेशिक लगानी आएको थियो । गत आव २०७५/०७६ मा जम्मा १३ अर्ब ७ करोड रुपैयाँ मात्रै विदेशी लगानी नेपाल आएको तथ्याङ्क सार्वजनिक भएपछि देशभित्र लगानीकर्ता चरम निराशामा पुगेको पुष्टि भएको हो ।
सरकारले देशभित्र लगानीको वातावरण उत्साहजनक भएको बताए पनि निजी क्षेत्रले उक्त भनाईलाई पत्याउन सकेको थिएन । विदेशी लगानीकर्ताले सरकारले भनेको भन्दा निजी क्षेत्र वा उद्योगी व्यवसायीले भनेकै कुरालाई बढी विश्वास गर्ने सोही आधारमा नेपालमा लगानी ल्याउने कि नल्याउने भन्ने निर्णय गर्छ । अहिले देशभित्र भएका लगानीकर्ता सरकारको रवैया देखेर चरम निराशामा पुगेका छन् ।
‘खासगरी, बहुराष्ट्रिय कम्पनीदेखि प्रतिष्ठित उद्योगी व्यवसायीसमेत नेपालमा थप लगानी गर्न आनाकानी गरिरहेका छन्,’ एक उद्योगीले भने, ‘देशभित्रका उद्योगी मात्रै होइन, अन्य मुलुकका उद्योगी/व्यवसायी पनि नेपालमा लगानी गर्न इच्छुक देखिएका छैनन्, त्यो कुरा राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्कबाट पनि पुष्टि भइसकेको छ ।’
सरकारले उद्योगी व्यवसायीमैत्री कानून बनाएको बताएपनि लगानीकर्ताले त्यस्तो महशुस गर्न सकेका छैनन् । उनीहरुको भनाइअनुसार पहिलाको भन्दा झन् जटिल कानून निर्माण गरेर उद्योगीलाई उल्टो दुःख दिने नियत देखिएको छ ।
सरकारले ल्याएका कुनै पनि कानून लगानीमैत्री नभएको उद्योगीको निश्कर्ष छ । सरकारले गतवर्ष ल्याएका अधिकांश कानूनले लगानीलाई सङ्कुचन बनाउने वा लगानी विस्तापित गर्ने खालका भएको उनीहरुको ठम्याइ छ ।
राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अर्थतन्त्रका अधिकांश सूचकहरु नकारात्मक रहेको देखिएको छ । तर, पनि सरकारले लगानीको वातावरण बनेको, निजी क्षेत्र लगानी गर्न उत्साहित भएको जिकिर गरेको छ ।
मुलुकभित्र भएका अधिकांश उद्योगी व्यवसायीले विगत एक वर्षदेखि नयाँ लगानी विस्तार गरेका छैनन् । ‘थप लगानी गर्दा लगानी नै जोखिममा पर्ने देखेपछि उनीहरु अहिले नेपालभन्दा नेपाल बाहिर लगानी गर्न जोसिएका छन्,’ एक उद्योगीले भने, ‘सरकारको निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन आएपछि नेपालमा थप लगानी नगरेका हुन् ।’
एकातिर स्वदेशी लगानीकर्ता देशभित्र लगानी विस्तार गर्न डराइरहेका छन्, अर्कोतिर विदेशी लगानी पनि ह्वात्तै घटेको छ । ‘सरकारले भनेअनुसार देशभित्र लगानीको वतावारण अनुकूल भएको भए, विदेशी लगानी बढ्नुपर्ने हो, के कारणले घट्यो त ?’ ती उद्योगीले प्रश्न गरे, ‘सरकारले भाषणमा राम्रो कुरा गरेको तर, व्यवहारिक रुपमा अत्यन्तै कठिन कानून निर्माण गरेका छन् ।’