काठमाडौं । राजधानीको भृकुटीण्डपमा चैत २३ गतेदेखि स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । इभेन्ट सोलुसन प्रालिले आयोजना गर्न लागेको मेलाको तयारी भइरहेकोे आयोजक संस्थाले जनाएको छ ।
चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनि स्वदेशी तथा विदेशी सामानहरू खरिद गर्न सक्ने गरी मेला आयोजना हुन लागेको हो । अधिक रुचाइएको यो मेला बर्सेनि आयोजना हुँदै आएकोमा पछिल्लो वर्ष कोरोना महामारीका कारण आयोजना हुन सकेको थिएन ।
‘दसैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ आयोजना हुने स्टक क्लियरेन्स मेला ५ दिनसम्म सञ्चालन हुनेछ । एक्स्पोमा चैते दसैंका साथै दैनिक उपभोगका लागि आवश्यक सबै किसिमका सामग्रीहरूको कारोबार हुने आयोजक संस्था इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।
एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्यान्ड र जापानका उत्पादन तथा प्रदर्शकहरूको सहभागिता रहनेछ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफरसमेत रहने आयोजकले जनाएको छ ।
‘मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामग्री, छालाका उत्पादनहरू, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्यान्डिक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामग्रीका सयभन्दा बढी स्टलहरू रहने छन्’, इभेन्ट सोलुसन प्रालिका बजार निर्देशक नवीन भट्टले भने ।
सम्पूर्ण उपभोग्य सामग्रीहरू एकै ठाउँबाट विशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्स्पोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरू सञ्चालन गरिनेछ । छाला जुत्ता तथा वस्तुहरूको मेलामा विशेष सहभागिता रहनेछ । मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरू सामान किन्न आउने र बिक्रेताहरूको पनि राम्रो जमघट हुने विश्वास इभेन्ट सोलुसनले लिएको छ ।
‘सपिङ गर्न उपभोक्ताहरू बजारमा धेरै भौंतारिनु पर्ने अवस्था नहोस् भन्न एउटै छानामुनि क्लियरेन्स मेला आयोजना गर्न लागेका हौं ।’ इभेन्ट सोलुसन प्रालिका अध्यक्ष सुनील भण्डारीले बताए । स्टक क्लियरेन्स मेला चैत २७ गते चैते दसैंका दिनसम्म सञ्चालन हुनेछ ।