काठमाडौं। सगरमाथा हिमाल आरोहणका लागि जाने क्रममा ज्यान गुमाएका एक आरोहीको शव फेला परेको छ। नेपाल पर्वतारोहण संघका अध्यक्ष फुरगेल्जे शेर्पाका अनुसार सगरमाथा आधार शिविरदेखि क्याम्प १ जाने व्यस्त मार्ग खुम्बु आइसफल क्षेत्रमा एक आरोहीको शव फेला परेको हो। सो शवको उद्धार गरी काठमाडौं ल्याइएको छ।
संघका अनुसार आइसफल डाक्टरहरूले नियमित रुपमा मार्ग व्यवस्थापन गर्ने क्रममा शव देखेका थिए। शव आंशिक रुपमा हिउमुनि गाडिएको, शरीरको करिब आधा भाग ढाकिएको अवस्थामा मुख्य आरोहण मार्गमै रहेको थियो। जसको कारण आरोहीहरूको सुरक्षामा जोखिमका साथै वातावरणीय चुनौती पनि सिर्जना गरेको कारण तत्कालै उद्धार गरीएको संघले जनाएको छ।
शव भेटेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले तत्काल उद्धारका लागि निर्देशन दिएको थियो। त्यसपछि पर्वतारोहण संघले नेपाल पर्यटन बोर्ड, सगरमाथा प्रदूषण नियन्त्रण समिति तथा एभरेष्ट क्षेत्रमा कार्यरत प्राविधिक टोलीसँग समन्वय गरी उद्धार अभियान अघि बढाएको हो।
गत अप्रिल २९, २०२६ मा अनुभवी शेर्पाहरूको टोलीले जोखिमपूर्ण अवस्थामा रहेको शवलाई सावधानीपूर्वक बरफबाट निकालेर सगरमाथा आधार शिविर पुर्याएको थियो। उद्धारपश्चात शवलाई सुरक्षित रुपमा व्यवस्थापन गरिएको संघले जनाएको छ।
अप्रिल ३० मा हेलिकप्टरमार्फत आधार शिविरबाट लुक्ला लैजाने प्रयास गरिएको भए पनि प्रतिकूल मौसमका कारण उक्त प्रयास सफल हुन सकेन। त्यसपछि मे १ मा पुनः गरिएको दोस्रो प्रयास सफल भएपछि शव लुक्ला पुर्याइएको थियो। लुक्ला पुर्याएपछि शव स्थानीय प्रहरीमार्फत पोस्टमार्टमका लागि पठाइएको र केही घण्टाभित्रै परीक्षण सम्पन्न गरिएको जनाइएको छ।
पोस्टमार्टम सम्पन्न भएलगत्तै मौसम बिग्रिएकाले शवलाई रातभर लुक्ला प्रहरी चौकीमा राख्नु परेको थियो। त्यसपछि मे २ को बिहान शव हेलिकप्टरमार्फत काठमाडौं ल्याई शिक्षण अस्पतालमा थप अनुसन्धान तथा पहिचानका लागि हस्तान्तरण गरिएको छ।
हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन। सगरमाथा आधार शिविरमै गरिएको प्रारम्भिक पहिचान प्रयास असफल भएपछि सम्बन्धित निकायले विगतका आरोहण सिजनहरूमा ज्यान गुमाएका पर्वतारोहीहरूको विवरणसँग तुलना गर्ने तयारी गरेको छ। साथै, डीएनए परीक्षणसहितका फोरेन्सिक प्रक्रियामार्फत मृतकको पहिचान पुष्टि गर्ने जनाएको छ।
पर्वतारोहण संघले उद्धार कार्यमा सहयोग गर्ने पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड तथा सगरमाथा प्रदूषण नियन्त्रण समिति लगायत सबै निकायप्रति आभार व्यक्त गरेको छ। संघले यस कार्यले हिमाली क्षेत्रमा सुरक्षा, मानवीय मर्यादा तथा वातावरणीय संरक्षणमा सकारात्मक योगदान पुर्याएको उल्लेख गरेको छ। संघले मृतकको पहिचानसँग सम्बन्धित थप जानकारी प्राप्त भएपछि सार्वजनिक गर्ने जनाएको छ।