काठमाडौं। नेपालमा विभिन्न मुलुकबाट चालू आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा १४ खर्ब ९० अर्ब ४९ करोड रुपैयाँको वस्तु आयात भएको छ । चालू आवको साउनदेखि चैत्र मसान्तसम्ममा विभिन्न मुलकबाट उक्त रकम बराबरको वस्तु आयात भएको हो।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँको वस्तु आयात भएको थियो। गत आवको तुलनामा चालू आवमा १३.८२ प्रतिशत बढी वस्तु आयात भएको भन्सार विभागले जनाएको छ।
विभागका अनुसार चालू आवमा आयातित वस्तुमध्ये सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ। पेट्रोलियम दुई खर्ब ११ अर्ब रुपैयाँ आयात भएको छ। कुल आयातमा पेट्रोलियमको हिस्सा १४.१८ प्रतिशत पुगेको छ।
चालू आवको ९ महिनामा एक खर्ब तीन अर्ब ३१ करोड रुपैयाँको डिजेल आयात भएको छ। गत आवको सोही अवधिमा ९१ अर्ब २६ करोडको डिजेल आयात भएको थियो।
यस्तै, चालू आवको सोही अवधिमा पेट्रोल ५० अर्ब ३९ करोडको आयात भएको छ। गत आवको सोही अवधिमा ४७ अर्ब ७७ करोडको पेट्रोल आयात भएको थियो। तर, खाना पकाउने ग्यासको आयात भने घटेको देखिन्छ।
गत आवको ९ महिनामा ४६ अर्ब ५८ करोडको ग्यास आयात भएकोमा चालू आवको सोही अवधिमा ४१ अर्ब ६४ करोड मात्रै आयात भएको छ। हवाई इन्धनको आयातमा भने वृद्धि भएको छ। गत आवको चैतसम्ममा १४ अर्ब ६४ करोडको हवाई इन्धन आयात भएकोमा चालू आवको ९ महिनामा १६ अर्ब दुई करोडको आयात भएको छ।
चालू आवमा कच्चा खाने तेलको पनि आयात उच्च छ। ९ महिनामा एक खर्ब २० अर्ब ९३ करोडको कच्चा खाने तेलको आयात भएको भन्सार विभागको तथ्यांक छ। नेपालमा प्रशोधित तेल निर्यात गर्ने उद्योगहरूले कच्चा खानेतेलको आयात गर्दै आएका छन्। जसमा भटमास, सूर्यमुखी र पाम तेल प्रशोधन गर्ने प्रयोजनका लागि कच्चा तेल आयात हुन्छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले आयातमा समेत त्यसको चाप देखिन थालेको छ। सुनको मूल्य बढेर आयातमा चाप पर्दा विगतमा राष्ट्र बैंकले आयातको कोटा घटाउने गरे पनि यसपालि विदेशी मुद्रा सञ्चिति पर्याप्त रहेकाले खुकुलो अवस्था कायमै छ।
सोही अवधिमा २३ अर्ब ५० करोड रुपैयाँको सुनको आयात भएको छ। परिमाणमा यो एक हजार दुई सय ५४ किलो दुई सय ५८ ग्राम हुन्छ। त्यस्तै, ९ महिनामा १६ लाख ७४ हजार दुई सय ४९ वटा स्मार्टफोन आयात भएका छन्। यसमा ३३ अर्ब ८२ करोड मूल्य देखिएको छ। ४६ अर्ब ४७ करोडको रासायनिक मल भित्रिएको छ। पेट्रोलियमसँगै आपूर्ति शृंखलाको असन्तुलनको असर रासायनिक मलमा देखिएको हो।
चालू आवको ९ महिनामा दुई खर्ब २२ अर्बको वस्तु निर्यात भएको छ। गत आवको सोही अवधिमा एक खर्ब ८८ अर्बको मात्रै निर्यात भएको थियो। अर्थात् निर्यात १८.४६ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा १२ खर्ब ७९ अर्बको व्यापार घाटा भएको देखिन्छ।
यस अवधिमा ९० अर्ब ७१ करोडको प्रशोधित सोयाबिन तेल निर्यात भएको छ। १० अर्ब ७० करोडको ठूलो अलैँची निर्यात गरिएको छ। सात अर्ब ४४ करोडको ऊन वा जनावरको रौँबाट बनेका कार्पेट र ६ अर्ब ९४ करोडको सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ।
त्यस्तै, पाँच अर्बको मात्रै पाम तेल बाहिरिएको छ। जुट वा अन्य बास्ट फाइबरबाट बुनेका कपडाहरू चार अर्ब ७९ करोडको भित्रिएको छ। तीन अर्ब ९६ करोडको मात्रै फेल्ट निर्यात भएको छ।
८५ प्रतिशतभन्दा कम पोलिस्टर भएको धागो तीन अर्ब ७१ करोडको निर्यात भएको छ। ८५ प्रतिशत वा सोभन्दा बढी पोलिस्टर भएको धागो तीन अर्ब ४७ करोडको बाहिरिएको छ। तीन अर्ब २३ करोडको मात्रै कुकुर वा बिरालोको खाना निर्यात भएको छ। दुई अर्ब ७६ करोडको ऊन वा राम्रो जनावरको रौँबाट बनेका सल, स्कार्फ, मफलर तथा घुम्टो निर्यात भएको विभागले जनाएको छ।