पोखरा। पोखराको लेकसाइडस्थित ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा’ले आफ्नो स्थापनाको पहिलो वर्ष पूरा गरेको अवसरमा विविध सामाजिक कार्यक्रम सम्पन्न गरेको छ। अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा बुद्ध जयन्तीको अवसरसँगै होटलले सामाजिक उत्तरदायित्व र आन्तरिक व्यवस्थापनलाई समेट्दै विविध कार्यक्रम सम्पन्न गरेको हो।
होटलले पहिलो चरणअन्तर्गत नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। होटलका कर्मचारी तथा स्थानीयको सहभागितामा कुल ३५ युनित रगत संकलन गरियो थियो।
यसैगरी, होटलको सफलतामा महत्वपूर्ण भूमिका खेल्ने ७० जना कर्मचारीमध्ये कार्य सम्पादनका आधारमा उत्कृष्ट ठहरिएका ६ जना कर्मचारीलाई ’उत्कृष्ट कर्मचारी पुरस्कार’द्वारा सम्मानित गरियो। सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै होटलले लेकसाइडस्थित स्ट्रिट नं. १७ क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गर्यो।
यस्तै, वार्षिकोत्सवको अर्को चरणमा होटल निर्माणमा प्रत्यक्ष योगदान पुर्याउने काष्ठ कला निर्माणकर्ता, ढुंगाका शिल्पकार, इन्टेरियर डिजाइनर तथा अन्य विभिन्न सहयोगीहरुलाई विशेष सम्मान गर्ने कार्यक्रम तय गरिएको सञ्चालक विश्वराज पौडेलले जानकारी दिए।
सन् २००८ मा हल्लनचोकमा 'चिल्ली बार एण्ड रेस्ट्रो’मार्फत पर्यटन क्षेत्रमा पाइला चालेका सफल पर्यटन व्यवसायी दाजुभाइ विश्वराज पौडेल र भिष्मराज पौडेलको संयुक्त लगानीमा यो होटल सञ्चालनमा आएको हो। नेपाली वास्तुकला, काष्ठकला र ढुंगाको हस्तकलालाई आकर्षक ढंगले प्रस्तुत गरिएको यस होटलमा प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको अनुपम संगम देख्न सकिन्छ।
'हामीले केवल शारीरिक विश्राम मात्र होइन, पाहुनालाई आत्मीय आतिथ्यता मार्फत आत्मिक सन्तुष्टि दिने लक्ष्य राखेका छौँ,' अर्का सञ्चालक भिष्मराज पौडेले भने। हरियाली वातावरण र दक्ष जनशक्तिमार्फत गुणस्तरीय सेवा दिँदै आएको टेम्पल बेल बुटिक होटलले छोटो समयमै पोखराको पर्यटन बजारमा छुट्टै पहिचान बनाउन सफल भएको छ।