काठमाडौं । प्रधामन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बोलाएका छन् ।
देउवाले भारत भ्रमण निस्किनुअघि अर्थतन्त्रका तीन प्रमुख निकायसँग छलफल गर्नलाई बोलाइएको बालुवाटार स्रोतले बताएको छ । देउवाको भारत भ्रमणका बेला उठाउनुपर्ने आर्थिक मुद्दाका बारेमा छलफल गर्न अर्थमन्त्री शर्मा, अर्थसचिव मधुकुमार मरासिनी, उपाध्यक्ष पौडेल र गनर्भर अधिकारीलाई बोलाएको स्रोतले बताएको छ ।
युक्रेन रसिया युद्धले विश्व अर्थतन्त्र प्रभावित भएको र त्यसको बाछिटा नेपालसम्म राम्रोसँग परेको अवस्था छ । यस्तो बेलामा हुन लागेको भारत भ्रमण आर्थिक रुपले महत्वपूर्ण मानिएका बेला देउवाले उनीहरुसँग आर्थिक विषयमा छलफल गर्ने र भारतमा त्यसका लागि सहजीकरण गरिदिन आग्रह गर्ने बताइएको छ ।
नेपालको अर्थतन्त्रको बाह्य क्षेत्र नराम्ररी विग्रिएको अवस्था छ । त्यसका अलावा बैंकसँग लगानी योग्य रकमको चरम अभाव हुँदा नयाँ ऋण प्रवाह हुन सकेको छैन । सरकारले पुँजीगत खर्च बढाउन सकेको छैन्, जसका कारण लगानी योग्य रकम बाहिर आउन नसकेको अवस्था छ ।
नेपाल विद्युत् प्राधिकरणले उद्योगमा लोडसेडिङ गर्दा उद्योग बन्द अवस्थामा छन् । यावत् विषयमा छलफल गर्नका लागि बेलुका ७ बजे प्रधानमन्त्री देउवाले उनीहरुलाई बालुवाटार बोलाएका हुन् ।
भारत भ्रमणका बेला उठाउनुपर्ने मुद्दाबाहेक देशलाई आर्थिक रुपमा चलायमान बनाउन चाल्नुपर्ने कदमका विषयमा समेत छलफल गर्ने स्रोतले बताएको छ । बैंकका कारण अर्थतन्त्र पूर्ण रुपमा प्रभावित बनेको छ । त्यमाथि अहिले विजुलीले थप समस्या पैदा गरेको सन्दर्भमा देउवाले अर्थतन्त्रका डाइभरलाई छलफलका लागि बोलाएका हुन् ।