काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ र संयुक्त अरब इमिरेट्स (यूएई)का राजदूत साइद हम्दान अल नाक्वीबीच भेटवार्ता भएको छ । भेटवार्तामा द्विपक्षीय र आपसी सम्बन्धका विषयमा छलफल भएको थियो ।
छलफलमा मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण बनेको भन्दै यूएईका लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रेरित गरिदिन आग्रह गरे ।
उनले दुई देशबीचको सम्बन्ध परापूर्व कालदेखि नै घनिष्ट रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझै सुमधुर भएर अघि बढ्ने विश्वास व्यक्त गरे ।
भेटमा राजदूत सहिदले ऊर्जा क्षेत्रमा सरकारसँग काम गर्न यूएई इच्छुक रहेको धारणा व्यक्त गरे । उनले यूएईले पनि तेल र ग्यासको सट्टा ऊर्जामा ध्यान केन्द्रित गर्न लागेको जानकारी दिँदै नेपालमा लगानीका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
२४ औं विश्व ऊर्जा सम्मेलनमा भाग लिन यूएई भ्रमणमा जान लागेका मन्त्री पुनलाई राजदूत सहिदले आइतबार सिंहदरबारस्थित ऊर्जामन्त्रालयमै पुगेर कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
ऊर्जामन्त्री यूएई भ्रमणमा जाने
ऊर्जामन्त्री वर्षमान पुन यूएईको तीन दिने भ्रमणमा जाँदै छन् । यूएईमा आयोजना हुन लागेको २४ औं विश्व ऊर्जा सम्मेलनमा भाग लिन मन्त्री पुन आइतबार साँझ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्ने छन् ।
सम्मेलनमा ७० मुलुकका ऊर्जामन्त्री, विश्भरका ५ सयभन्दा बढी कम्पनीका कार्यकारी अधिकृत र २५० जना वक्ता सहभागी हुँदैछन् । १ सय ५० देशको सहभागिता रहने उक्त सम्मेलनमा तेल, ग्यास, जलविद्युत्, पूर्वाधार, ऊर्जा उत्पादन, वैकल्पिक ऊर्जा, नवीकरणीय ऊर्जा र ग्रिड प्रविधिका विषयमा छलफल हुनेछ ।
मन्त्री पुनले सम्मेलनमा इनर्जी, वाटर, फुड र अर्थतन्त्रको प्रणालीमा देखिएको समस्याका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम छ ।