नेपाल उद्योग परिसंघले भदौं २५ र २६ गते काठमाडौंमा गर्न लागेको पूर्वाधार सम्मेलनको तयारी पूरा भएको छ । राजधानीमा हुन लागेको तेस्रो पूर्वाधार सम्मेलनमा लगानी बोर्डको २१ र प्रदेशस्तरका ८२ वटा आयोजना शोकेस गरिने परिसंघले जनाएको छ।
ठूला आयोजना मात्रै शोकेसमा राख्दा साना लगानीकर्ता निरुत्साहित भएको भन्दै सबै आयोजना शोकेस गर्न लागेको हो । परिसंघका अध्यक्ष सतीशकुमार मोरले विदेशी लगानीको न्यूनतम सीमा बढाइएकोले त्यही आधारका आयोजना राखिने जानकारी दिए।
करिब ५ सय जना लगानीकर्ता सहभागी हुने कार्यक्रमलाई अर्थ, ऊर्जा, उद्योग र पूर्वाधार मन्त्रीले सम्बोधन गर्नेछन् । यस पटकको पूर्वाधार सम्मेलनमा सरकार पनि आयोजक बनेको छ भने लगानी बोर्ड सहआयोजक रुपमा छ ।
सडक, सार्वजनिक यातायात, विमानस्थल, होटल तथा रिसोर्ट, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्राविधिक शिक्षा, जलविद्युत लगायतका आयोजना सम्मेलनमा राखिने छन्।
परिसङ्घका उपाध्यक्ष विष्णु अग्रवालले यस अघि गरिएकाे पूर्वाधार सम्मेलनले देशमा पूर्वाधार विकासकाे माहाेल बनाएकाे बताए । देश सङ्कमणकालमा रहेकाे बेला परिसङ्घले गरेकाे लगानी सम्मेलन उपलब्धिमूलक भएकाे बताए ।
तेस्राे पूर्वाधार सम्मेलनका संयाेजक वीरेन्द्रराज पाण्डेले देशभित्र लगानीकाे वातावरण बनाउन सम्मेलन अायाेजना गर्न लागेकाे बताए । विश्वका लगानीकर्ता, नीतिनिर्माता एकै ठाउँमा जम्मा हुँदा लगानीकाे वातावरण बनेकाे सन्देश जाने उनले बताए ।
विभिन्न देशबाट नेपालमा अाउने वक्ता र नेपालका निजी क्षेत्र र सरकारबीच अापसमा सुमधुर सम्बन्ध समेत कायम हुने उनकाे भनाइ छ ।