काठमाडौं । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज अपराह्न १२ः१५ मा उद्घाटन गरिँदैछ । भारतको मोतिहारीबाट अमलेखगन्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत एकैसाथ स्वीच थिचेर परियोजनाको समुद्घाटन गर्नेछन् ।
उद्घाटनसँगै मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रने छ । पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइने छ । यसपछि क्रमशः पेट्रोल र मट्टीतेल ल्याइनेछ ।
मोतिहारी–अमलेखगन्ज पाइप लाइनको दूरी ६९ दशमलव २ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ ३६ दशमलव २ र भारततर्फ ३३ किलोमिटर रहेको छ ।
पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने पेट्रोलियम पाइप लाइन परियोजनाले जनाएको छ । सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौ ढुवानी खर्च जोगिने छ ।
पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च कटौती हुनेछ । पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानीलागतको न्यूनीकरणले उपभोक्ता मूल्यसमेत समायोजन हुनेछ ।
देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको निगमले जनाएको छ । पाइपलाइन परियोजना उद्घाटनको सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी पूर्ण भएको नेपाल आयल निगमले जनाएको छ ।
“पाइपलाइन उद्घाटनको सम्पूर्ण तयारी पूरा भइसकेको छ”, निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, “नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले इलेक्ट्रिक स्वीच थिची उद्घाटन गरेपछि तत्काल पाइपमार्फत डिजेल आउन शुरु हुनेछ ।” उक्त उद्घाटनको दृष्य निगमको अमलेखगञ्ज डिपो र भारतीय आयल निगम कर्पोरेशनको मोतिहारी डिपोबाट प्रत्यक्षरुपमा हेर्नसक्ने व्यवस्था मिलाइएको छ ।
परियोजनाको उद्घाटनका क्रममा निगमका कार्यकारी निर्देशकसहितको उच्च प्राविधिक टोली अमलेखगन्जमा हुनेछ । यसका लागि निगमको उच्च अधिकारी सम्मिलित टोली अमलेखगन्ज पुगिसकेको छ ।
निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो । सो परियोजना विविध कारणले एक दशकभन्दा बढी समय रोकिएर रहेको थियो ।
सन् २०१५ को अगष्टमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेसँगै परियोजना निर्माण शुरु भएको हो ।
निगमको नेतृत्व सम्हाल्ले लगत्तै कार्यकारी निर्देशक पौडेलले उक्त परियोजनालाई तोकिएको समयभित्रै सम्पन्न गर्न ताकेता तथा कुनै समस्या देखिए समाधानका लागि सहजीकरण गर्दै आएका थिए ।
सो परियोजना निर्माणमा नेपाल र भारत सरकारले अत्यन्त चासो व्यक्त गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नयाँ दिल्लीबाट प्रधानमन्त्री ओली र उनका भारतीय समक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा पाइपलाइन परियोजनाको शिलान्याश गरेका थिए ।
परियोजनाको लागत दुई अर्ब ७५ करोड भारतीय रुपैयाँ (नेपाली रुपैयाँ करीब चार अर्ब ४० करोड) रहेको छ ।