काठमाडौं । नेपालमा भएको सम्भावनालाई पहिचान गरेर त्यसलाई बढावा दिन विज्ञहरूले सरकारलाई सुझाएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको अर्थतन्त्रको वर्तमान अवस्था र अबको बाटो विषयक कार्यक्रममा बोल्दै आर्थिक क्षेत्रका विज्ञहरुले नयाँ क्षेत्रको पहिचान गरेर त्यसअनुरुप नीति बनाउनुपर्ने बताएका हुन् ।
कार्यक्रममा अर्थशास्त्री डा.माणिक श्रेष्ठले नेपालमा भएका सम्भावनालाई पहिचान गरेर नीति बनाउनुपर्ने बताए । नेपाल सूचना प्रविधि (आईटी) हब बन्न सक्छ । त्यसबाहेक विदेशी लगानीलाई आकर्षित गर्न नीतिगत तहमा सुधार गरे विदेशी लगानीकर्ता नेपाल आउने श्रेष्ठको भनाइ छ ।
आर्थिक रुपमा देशलाई अब्बल बनाउन नीतिगत रुपमा सुधार गर्नुपर्ने तर, नीतिगत सुधार गर्ने र कार्यान्वयन गर्ने इच्छाशक्ति सरकारमा बस्नेहरुसँग नभएकाे भन्दै त्यसैको परिणाम अहिले देखापरेको श्रेष्ठको भनाइ छ ।
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले विदेशी लगानीका लागि निजीक्षेत्र बाधक बन्न नहुने बताए ।
‘विदेशी लगानी भित्रिँदा स्वदेशी लगानीकर्ताको क्षमता विस्तार हुने हो', थापाले भने, ‘आफ्नोसहित देशको हितमा हुने कामको निजी क्षेत्रले विरोध गर्न हुँदैन ।’
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तरलता अभाव, सरकारले वस्तु आयातमा गरेको कडाइ, बिजुली समस्याबाट निजीक्षेत्र समस्यामा परेको बताए । सरकारले विदेशी मुद्रा आर्जनका स्रोतहरूमा भएको चुहावटलाई नियन्त्रण गरेर विदेशी मुद्रा बढाउनुपर्नेमा आयात रोकेर अर्थतन्त्र ठप्प बनाउन खोजेको गोल्छाले आरोप लगाए । कोभिडपछि विस्तारै लयमा फर्किँदै गरेको अर्थतन्त्र थप विस्तारमा अनेकन अवरोधहरु आइपरेको गोल्छाले बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विकासशील देशमा अभावलाई अवसरमा बदल्ने सामथ्र्य राख्नुपर्ने बताए । ‘विकासशील देशले यस्तो अवस्थाबाट गुज्रिनु नै पर्छ । तब मात्रै देशको अर्थतन्त्रमा पटक पटक यस्तो समस्या आउँदैन्,’ उनले भने, ‘कुनै समय भारत पनि यस्तै समस्याबाट गुज्रिएको थियो । आज भारत कुन अवस्थामा छ ? उसले के कस्ता नीतिगत सुधार गर्यो । त्यो नेपालले पनि सिक्नुपर्छ ।’
कुनै समय भारतीयहरु नेपालबाट सामान किनेर भारत लैजान्थे । आज नेपालबाट भारत गएर सामान किन्छन् । भारतले आफूलाई त्यसरी रुपान्तरण गरेको उनको भनाइ छ ।
नेपालले अहिलेको समस्यालाई कुन तरिकाले अवसरको रुपमा लिएर अघि बढ्न सक्छ ताकी यस्ता समस्या पछि नआओस् । अर्थतन्त्र खुम्चिने वातावरण हटाउन के गर्न सकिन्छ ? त्यतातिर नीति निर्माता र थिंक ट्यांकले सोच्नुपर्ने बेला आएको अग्रवालको भनाइ छ ।
देशमा कृषिबाट सेवा क्षेत्रतर्फको योगदान बढिरहेको छ । औद्योगिकरण एक सालमै हुन सक्दैन । १० वर्षसम्मका लागि स्वदेशी दशक घोषणा गरौ । त्यसो हुँदा आयात पनि रोकिन्छ र निर्यात पनि बढ्ने अग्रवालले बताए ।
जुन बेला बंगलादेशले औद्योगिकरण सुरु गर्यो, त्यो बेला उनीहरुले धेरै सुविधा दिएका थिए । त्यसैबाट बंगलादेश औद्योगिककरणतर्फ प्रवेश गरेको उनको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालभन्दा कयौं गुणा कमजोर मुलुकहरु आज नेपालभन्दा अघि बढेका छन् । सरकारले ल्याउने नीति निर्देशन दरिलो भएन । सरकार परिवर्तन हुनासाथ नीति परिवर्तन हुने रोगको अन्त्य हुनुपर्नेमा जाेड दिए ।
'भुक्तानी सन्तुलनालाई नियन्त्रण गर्नुपर्छ । तर, आयातलाई रोकेर होइन', उनले भने, 'निर्यात बढाएर, रेमिट्यान्सलाई वैधानिक माध्यमबाट भित्र्याएर भुक्तानी सन्तुलनलाई कायम राख्ने हो ।'
आयात रोक्नेबित्तिकै चोरी पैठारी भएर सामान नेपाल भित्रिन्छ । जसले देशको अर्थतन्त्रमा ठूलो क्षति पुर्याउने मल्लले जानकारी दिए ।
नेपालमा जुन-जुन क्षेत्रको सम्भावना छ, त्यसलाई बढावा दिँदै लैजानुपर्छ । ट्रेडिङलाई दिने कर्जा र पर्यटन क्षेत्रलाई दिइने कर्जाको ब्याज समान छ । अनि कसरी पर्यटन क्षेत्रको विकास हुन्छ ? मल्लले प्रश्न गरे ।
कसरी नेपालमा पर्यटन क्षेत्रको विस्तार गर्न सकिन्छ, कृषि, जलस्रोतको विकासलाई तीव्र बनाउन सकियो भने त्यसले विदेशी मुद्रा आर्जनमा ठूलो सहयोग पुग्ने मल्लको भनाइ छ । उनका अनुसार विद्युतीय गाडीको प्रयोगलाई बढाउन थालियो भने पेट्रोलियम पदार्थको आयात पनि घट्छ । त्यसबाट पनि विदेशी मुद्राको दबाब कम गर्न सकिन्छ ।
समुन्द्रपार निकासी पैठारी संघका उपाध्यक्ष विनोदकुमार सेठियाले हल्ला गर्दैमा देशमा उद्योगको विकास हुन नसक्ने बताए । नेपाली उत्पादन छिमेकी मुलुकसँग प्रतिस्पर्धी बन्न सक्दैनन्, प्रतिस्पर्धी नहुने वित्तिकै निर्यात महँगो हुन्छ । अन्त्यमा उद्योग नै बन्द गर्नुपर्ने अवस्था आउने उनको भनाइ छ । सरकारले प्राथमिकता छुट्याएर कुन उद्योगलाई प्रोत्साहन गर्ने हो, त्यसपछि मात्रै उद्योग लाग्ने वा नलाग्ने भन्ने निर्क्याैल हुने उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष दिनेश श्रेष्ठले चीनबाट सामान ल्याउन कोभिड आउँदैन । नेपालबाट सामान निर्यात गर्न कोभिड जान्छ भने मानसिकताबाट गुज्रिएको बताए ।
'नेपालमा प्रचुर मात्रामा ढुंगा खानी छ, बंगलादेशमा नेपालको ढुंगाको उच्च माग छ । तैपनि हामी निर्यात गर्ने सक्दैनौं। निर्यात गर्न छलफल थाल्दा राष्ट्रियताको कुरा उठ्ने गरेको छ । जे नेपालसँग छ, त्यो बेचौं तब न विदेशी मुद्रा भित्रिन्छ', उनले थपे ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाल यो भन्दा राम्रो पनि नबन्ने र माथि पनि नजाने बताए । नेपालका कर्मचारीतन्त्रको निजी क्षेत्रलाई हेर्ने सोच देखेरै नेपालमा उद्योगको विकास असम्भव रहेको बताए ।
व्यवसायीलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने सोचाइबाट कानुन बनाइन्छ । जहाँ निजी क्षेत्रलाई व्यवसाय गर्ने वातावरण दिइँदैन । जहिले पनि दुःख दिइन्छ, त्यस्तो देशमा हुने हाल यस्तै भएको श्रेष्ठको तर्क थियो ।
४ महिनादेखि उद्योगमा बिजुली नहुँदा सरकारलाई त्यसको कुनै प्रवाह छैन । अझै सरकारी अधिकारीहरु यस विषयमा आवाज उठाउँदा अनावश्यक हल्ला नगर्न निजी क्षेत्रलाई निर्देशन दिइरहनुले सरकारको प्रथामिकता प्रष्ट हुने श्रेष्ठले बताए ।