चौधरी फाउन्डेसनले काठमाडौंको कान्ति बाल अस्पतालमा सारिकादेवी चौधरी आकस्मिक वार्ड स्थापना गरेको छ। फाउन्डेसनले ६० वर्ष पुरानो बाल हस्पिटलमा २५ बेडसहितको आकस्मिक वार्ड स्तरोन्नति गर्न सहयोग गरेको हो।
कान्ति बाल अस्पतालमा ‘इमर्जेन्सी वार्ड’मा १४ वटा मात्रै बेड रहेका थिए। एकै पटक धेरै बच्चा उपचारको लागि आउँदा एउटै बेडमा ३–४ वटा बच्चा राखी उपचार गर्दै आएको थियो। अब भने सरकारी अस्पतालको इमर्जेन्सी सेवा नराम्रो रहेको गुनासो सम्बोधन हुने अस्पतालले विश्वास गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले चौधरी फाउन्डेसनले गरिब जनताको लागि धेरै काम गरेको बताए।
‘६० वर्ष पुरानो अस्पतालमा अत्याधुनिक प्रविधिसहितको २५ बेड बनाउन चौधरी फाउन्डेसनले सहयोग गरेको छ’, मन्त्री श्रेष्ठले भने, ‘निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा दिने दायित्व सरकारको भए पनि स्रोत साधनको सीमितता हुँदा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्छ।’

मन्त्री श्रेष्ठले चौधरी फाउन्डेसनले जस्तै अन्य व्यवसायीले सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने बताए। देशभरका नागरिक केन्द्रमा धाउनुपर्ने अवस्था हटाउँदै प्रदेशमा हस्पिटल बनाउन ध्यान दिनुपर्ने बताए।
चौधरी फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले फाउन्डेसनको लक्ष्य बालबालिकाको विकास र क्षमता अभिवृद्धिमा सहयोग गर्नु रहेको बताए।
‘युवाको क्षमता विस्तारको लागि फाउन्डेसनले सहयोग गर्दै आएको थियो। कान्तिबाल अस्पताल त्यसकै निरन्तरता हो,’ चौधरीले भने, ‘हाम्रो आमाको नाममा आकस्मिक कक्ष स्थापना गर्न पाउँदा खुसी लागेको छ।’
चौधरी फाउन्डेसनकी महासचिव सारिकादेवी चौधरीले कान्तिबाल अस्पतालसँग सहकार्य गर्न पाउँदा खुसी भएको प्रतिकिया दिइन्।

‘मेरो छोरा निर्वाण ५ वर्षको हुँदा कान्तिमा उपचारको लागि आएको थिएँ,’ उनले भनिन्, ‘छिटो उपचार नपाउँदा आमाहरु धेरै छटपटिनुपर्छ। फाउन्डेसनमार्फत आमाहरूको चिन्तालाई सहयोग गर्न पाउँदा मलाई गर्वानुभूति भएको छ।’
स्वास्थ्य तथा जनसंख्या सचिव रोशन पोखरेलले आकस्मिक कक्ष स्तरोन्नतिपछि व्यवस्थापनको जिम्मेवारी अस्पतालको भएको बताए। २०२१ डिसेम्बरमा अस्पताल र चौधरी फाउन्डेसनका बीचमा आकस्मिक कक्ष स्तरोन्नतिको सम्झौता भएको थियो।

कान्ति बाल अस्पतालले जनशक्ति व्यवस्थापन र नियमित नियमनको काम गर्ने जिम्मेवारी बताएको छ। कान्ति बाल अस्पताल ३०२ बेडमा सञ्चालनमा रहेकोमा केही समयमै ५०० पुर्याउने लक्ष्य राखेको छ। अस्पतालले ९२ रोपनी क्षेत्रफल हस्पिटल विस्तार गर्ने डीपीआरको लागि सरकारले सहमति प्रदान गरिसकेको छ।

अस्पतालको बेड संख्या बढ्दै गए आकस्मिक कक्ष पनि थप गर्दै जानु पर्ने युवानिधि वसुलाले बताए।
