काठमाडौं। नेपालको प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय पहुँच विस्तार एवं आईटी क्षमतालाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल टेक रोड शो युएस २०२६ सञ्चालन हुने भएको छ। नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनी नासआईटीले मेलासम्बन्धी जानकारी दिएको हो।
नेपालको आईटी क्षमतालाई अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्नुका साथै अमेरिकी कम्पनी लगानीकर्ता तथा गैरआवासीय नेपाली समुदायसँग अर्थपूर्ण व्यावसायिक सम्बन्ध स्थापना गर्न भन्दै आगामी मे १५मा अमेरिकास्थित टेक्सास राज्यको ग्रेपभाइनस्थित एम्बेसी सुईटस बाई हिल्टनमा हुनेछ।
टेक रोड शोले पछिल्लो समय नेपालमा सूचना प्रविधि क्षेत्रले नयाँ मानक बनाइरहेका कारण उद्योगको रुपमा विकास भईरहेको भन्दै यसलाई थप बढावा दिन तथा नेपालको प्रविधि क्षेत्रको पहुँच र यसको दायरा बढाउन टेक रोड शो आयोजना गरिने नासआईटी उपाध्यक्ष दिपेन चापागाईंले बताए।
टेक रोड शो सूचना तथा प्रविधि उद्योगमा नेपाललाई सफ्टवेयर विकास, कृत्रिम बुद्धिमता, डाटा तथा डिजिटल रुपान्तरण सेवाका लागि भरपर्दो र प्रतिस्पर्धात्मक गन्तव्यका रुपमा स्थापित गर्न सहयोग पुग्ने उपाध्यक्ष चापागाईंको बुझाइ छ।
नेपाली आईटी कम्पनीलाई अमेरिकी बजारसँग प्रत्यक्ष रुपमा जोड्ने लक्ष्यका साथ अघि बढाइनेछ। प्रदर्शनीमा नेपालको प्रविधि क्षमता, दीर्घकालीन साझेदारी विकासमा सघाउने अपेक्षा गरिएको नासआईटीका संस्थापक अध्यक्ष तथा कार्यकारी बोर्ड सदस्य रिचन श्रेष्ठले बताए।
रोडशोमा के हुन्छ
आगामी महिनामा हुने टेक रोड शोअगावै मे ८ मा अमेरिकास्थित सान फ्रान्सिस्कोमा नेपाल टेक कनेक्ट सान फ्रान्सिस्को आयोजना हुने नासआईटीले जनाएको छ। सो कार्यक्रम व्यवसायी उद्यमी लगानीकर्ता तथा नेपाली पेसाकर्मीसँग नेटवर्किङ तथा छलफलका लागि केन्द्रित हुनेछ।
नेपाल टेक रोड शोमा नेपाली आईटी कम्पनीले आफ्ना सेवा, समाधान तथा क्षमता अमेरिकी सरोकारवालासमक्ष प्रस्तुत गर्नेछन्।
अमेरिकी व्यवसाय, स्टार्टअप तथा लगानीकर्तासँग हुने बीटूबी मिटिङ तथा नेटवर्किङ, नेपालको आईटी क्षेत्र, ग्लोबल डेलिभरी क्षमता, अमेरिकामा रहेका नेपाली पेसाकर्मीसँग साझेदारी, मार्गदर्शन तथा बजार प्रवेशका सम्भावनाबारे डायस्पोरा इंगेजमेन्ट समावेश रहेको नास आईटीको भनाइ छ।