काठमाडौं । नेपाली सेनाको नेतृत्वमा रोटरी क्लब अफ नागार्जुन तथा विभिन्न सरकारी दातृ निकायसँगको समन्वयमा ‘सफा हिमाल अभियान–२०२२’ सम्पन्न भएको छ ।

सफा हिमाल अभियान २०२२ अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंघा, र मनास्लु गरी ४ हिमालबाट ३३ हजार ८०० केजीभन्दा बढी फोहोर (७ हजार २२७ केजी कुहिने र २६ हजार ६५० केजी नकुहिने) संकलन भएको छ । संकलन गरिएको फोहोरलाई प्रमाणीकरणपश्चात् वर्गीकरण, प्रशोधन र पुनः प्रयोगका लागि रिसाइकल पार्टनरलाई हस्तान्तरण गर्ने बताइएको छ ।

विश्व वातावरण दिवसको अवसरमा आइतबार होटल याक एन्ड यतीमा कोकाकोला फाउन्डेसनले समापन समारोह आयोजना गरेको थियो । कार्यक्रममा वातावरण विभागका महानिर्देशक गोपालप्रसाद अर्याललगायत विभिन्न सरोकारवाला संस्था, अभियान साझेदारहरु र सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो ।

सफा हिमाल अभियानले सफा हिमाल अभियान २०२२ अन्तर्गत ४ वटा हिमालबाट ३३ हजार केजी फोहोर संकलन भएको जनाएको हो । प्रतिकूल मौसमी अवस्था र अत्यधिक उचाइका कारण हिमालको फोहोर संकलन गर्ने काम चुनौतीपूर्ण र जोखिमपूर्ण भएको बताइएको छ । उक्त अभियानको अभियानको सुरुवातदेखि कोका–कोला फाउन्डेसनले निरन्तर सहयोग गर्दै आएको थियो ।

कोका–कोला फाउन्डेसनकी अध्यक्ष साडिया माड्सब्जर्गले भनिन्, ‘माउन्टेन क्लिन–अप क्याम्पेनसँग कोका–कोला फाउन्डेसनको साझेदारी भन्नु नै फोहोर–मुक्त वातावरण निर्माणका लागि सम्बन्धित सबैलाई एक ठाउँमा ल्याउने हाम्रो दृढ प्रतिबद्धता हो ।

हिमालहरू आफ्नो प्राकृतिक सौन्दर्यका लागि विश्वप्रसिद्ध हुनाको साथै नेपालीहरुसँग सांस्कृतिक रुपमा पनि जोडिएका छन् । यस्तो मजबुत प्राकृतिक–संस्कृतिक बन्धनले वासस्थान संरक्षणमा प्रमुख भूमिका खेल्छ ।’

साथै हिमालयको प्राकृतिक सौन्दर्यलाई धेरै पछिसम्म सुरक्षित राखिरहनको लागि कोका–कोला फाउन्डेसनले सधैं सहयोग गरिरहने उनको भनाइ छ । उक्त अभियान सफा हिमाल अभियानको तेस्रो संस्करण हो ।



