काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग्यो । सेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार बिहान ११ बजेदेखि मध्याह्न १ बजेसम्म भएको कारोबारमा नेप्से परिसूचक ७.५६ अंकले ओरालो लागेर एक हजार ९७१.३८ मा ओर्लेको छ ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६९ अंकले ओरालो लागेर ३८१.१४ मा ओर्लेको छ । कुल २२० कम्पनीको २३ लाख ५५ हजार एक कित्ता सेयर ७३ करोड ६३ लाख १२ हजार १५८ रुपैयाँ मूल्यमा खरिदबिक्री भए ।
आजको कारोबारपछि बजार पुँजीकरण २८ खर्ब १० अर्ब ६९ करोड ६१ लाख ८० हजारबराबरको कारोबार भयो । नेप्सेका अनुसार कारोबार भएका कुल १३ उपसमूहमध्ये शुक्रबार सामूहिक लगानी कोषको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । सो उपसमूहको सेयर ०.०१ अंकले उकालो लाग्यो ।
त्यस्तै, बैंकिङ ५.०८, व्यापार ९.४२, होटल तथा पर्यटन १५.९, विकास बैंक १४.२१, जलविद्युत् १८.६९, वित्त ८.३८, निर्जीवन बीमा १८.५८, उत्पादन ८.११, अन्य ८.२, लघुवित्त १.८१, जीवन बीमा २.९४ र लगानी ०.३७ अंकले उकालो लाग्यो ।
कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको १० करोड १४ लाख ७० हजार ८७९ रुपैयाँबराबरको कारोबार भयो । त्यस्तै, सेन्चुरी बैंक ६ करोड ४७ लाख ९४ हजार १०८, एनसीसी बैंक ४ करोड ९ लाख २३ हजार, कुमारी बैंक २ करोड ८६ लाख २९ हजार २४९ र लक्ष्मी बैंक २ करोड २६ लाख ३७ हजार १६४ रुपैयाँबराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार आँधीखोला लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । सिवाइसी नेपाल लघुवित्त ४.०२, लुम्बिनी जनरल इन्स्योरेन्स ३.४६, सानिमा लाइफ इन्स्योरेन्स ३.०६ र प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले २.५६ प्रतिशतले कमाएका छन् । त्यस्तै, रिभर फल्स पावर लिमिटेड ५.९३, बुद्धभूमि नेपाल हाइड्रोपावर ४.६४, सिंगटी हाइड्रोपावर ४.३४, गणपति लघुवित्त ३.८९ र माउण्टेन हाइड्रो पावरका लगानीकर्ताले ३.८७ प्रतिशतले गुमाएका छन् ।