काठमाडौं । बागलुङ घर भई हाल काठमाडौं बस्दै आएका प्रवेश शर्माले केही समयअघि आफ्नो ‘क्रसफायर’ मोटरसाइकल बनाउन धुम्बाराहीस्थित वर्कसपमा लिएर गए । वर्कसपमा काम गर्ने कर्मचारीले मोटरसाइकल तथा चालकको सम्पूर्ण विवरण लिँदै भनिन्, ‘तीन दिनपछि बाइक लिन आउनुहोला ।’
उनकै आज्ञाअनुसार शर्मा तीन दिनपछि बाइक लिन वर्कसप गए । बाइक बनिसकेको थियो । बिल भुक्तानी गर्न शर्मा काउन्टरतिर सोझिए । काउन्टरमा सोही व्यक्ति थिए, जसले तीन दिनपछि बाइक लिन बोलाएका थिए ।
ती कर्मचारीले सामान्य कागजमा मोटरसाइकल बनाएको ३५ हजार रुपैयाँको बिल निकालिन् । शर्माले मूल्य अभिवृद्धि कर (भ्याट) सहितको बिल मागे । तर, ती कर्मचारीले हामीसँग यस्तो मात्रै बिल हुन्छ । भ्याट बिल हुँदैन भन्दै आफ्नो कम्पनीको छाप समेत नहानेका बिल दिइन् । ‘यत्रो कारोबार पनि भ्याट बिल बिनै गर्नुहुन्छ ?’ भन्दै शर्माले प्रश्न गरे । ती कर्मचारीले केही जवाफ दिइनन् ।
यो एउटा प्रतिनिधि उदाहरण मात्रै हो । महँगा मोटरसाइकल तथा गाडी मर्मत गर्ने वर्कसप सञ्चालकले भ्याटबिनै दैनिक लाखौ कारोबार गरिरहेका छन् । क्रसफायर, डुकाटी, बिएमडब्ल्यू, बेनेलीलगायत महँगा बाइक बनाउने वर्कसपले ठूलो परिमाणमा आयकर र भ्याट छलेको पाइएको हो ।
भ्याट बिल जारी गर्दा सरकारलाई १३ प्रतिशत भ्याट तिर्नुपर्ने र आयकर तिर्नुपर्ने भएकाले उनीहरुले भ्याट बिलबिनै कारोबार गर्ने गरेका छन् । वर्कसप सञ्चालकले ग्राहकबाट महँगो शुल्क लिने र राज्यलाई कुनै पनि कर नतिर्ने प्रवृति बढेको छ ।
याे पनि पढ्नुहाेस्ः
खासगरी, मोटरसाइकल र गाडीको वर्कसप सञ्चालकले भ्याटमा कारोबार गर्दैनन् । भ्याटमा कारोबार गर्दा वार्षिक नाफा पनि देखिने नाफामा २५ प्रतिशत आयकर तिर्नुपर्ने भएकाले अधिकांशले भ्याटमा कारोबार नगर्ने गरेको आन्तरिक राजस्व विभागले बताएको छ ।
भ्याट बापत १३ प्रतिशत र आयकरबापत २५ प्रतिशत रकम लुकाउन भ्याट बिल नदिएको विभागको बुझाइ छ । अर्थमन्त्री डा युवराज खतिवडाले यसअघि दिँदै आएको भ्याट सुविधा खारेज गरे पनि वर्कसपलगायतलाई अझै भ्याटको दायरामा ल्याउन सकेका छैनन् ।
आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुँवरले यस विषयलाई लिएर अनुगमन गर्ने बताए । ‘विभागमा पनि यस विषयमा विभिन्न उजुरी आएका छन्,’ उनले भने, ‘हामी अध्ययनकै क्रममा छौं । दोषी देखिए कारबाही हुन्छ ।’
एकातिर चोरी निकासी गरेर स्पेयर पार्टस् ल्याउने र त्यही पार्टस् प्रयोग गर्ने गरेका छन् । चोरी निकासी गरेर सामान ल्याउँदा भन्सार पनि छली हुने र त्यही सामान बेच्दा पनि भ्याट बिल नदिने प्रवृत्ति मौलाएको छ ।
भन्सार स्रोतका अनुसार अझै पनि ५० प्रतिशत स्पेयर पार्टस् चोरी निकासी भएर आएको छ । चोरी निकासी भएर आएको स्पेयर पार्टस् बेच्दा भ्याट बिल जारी गरिँदैन । सस्ता मोटरसाइकलको तुलनामा महँगा मोटरसाइकलको स्पेयर पार्टस् बढी चोरी हुने र तिनै वर्कसपले भ्याट बिल नदिने गरेको पाइएको हो ।