काठमाडौं । जापानले प्रस्तावित ४१७ मेगावाटको नलसिंहगाड जलासययुक्त आयोजना बनाउने भएको छ । नेपालको अनुरोधमा जापानले आयोजना बनाउन चासो देखाएको हो ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन आयोजना अघि बढाउनका लागि छलफल गर्न सोमबार जापान प्रस्थान गरेका छन ।
आयोजना बनाउने विषयमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) संग छलफल हुने ऊर्जा मन्त्रीका प्रेस संयोजक रोशन खड्काले बताए । छलफलपछि नेपाल सरकार र जाईकाबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर हुने खड्काले जानकारी दिए ।
आयोजनको विस्तृत इन्जिनियरिङ (डीपीआर) को काम अन्तिम चरणमा पुगेपछि उर्जा पुनले आयोजना बनाउन जापानसंग कुरा गर्न लागेका हुन ।
जापान भ्रमणमा जानुअघि उर्जामन्त्री पुनसंग सोमबार जापानी राजदूत मासामिची साइगोले शिष्टाचार भेटवार्ता गरेका थिए । मन्त्री पुनले जाइकाका उपाध्यक्षसंगको भेटमा जाजरकोटमा रहेको नलसिंङगाडलाई अन्तिम टुंगो लगाउने विषयमा समेत छलफल गर्नेछन ।
नलसिंङगाड परियोजना जाइकाले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा अध्ययन गरिरहेको छ । आयोजना बनाउन सरकारले नलगाड हाइड्रोपावर लिमिटेड गठन गरिसकेको छ ।
उर्जामन्त्री पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित सोमबार राति जापानको ओसाका पुगिसकेका छन ।
मन्त्री पुनले जापान भ्रमणको क्रममा नेपालको जलविद्युत क्षेत्रमाको सम्भावना र लगानीबारे समेत जापानी लगानीकर्तासंग अन्र्तक्रिया गर्ने कार्यक्रम छ । कार्यक्रममा फुजी र कान्साईलगायतका कम्पनीको समेत सहभागिता रहनेछ ।
आयोजनाबाट वार्षिक १ अर्ब ४० करोड ६० लाख युनिट विद्युत् उत्पादन हुने नेपाल विद्युत् प्राधिकरणले गरेको सम्भाव्यता अध्ययनले देखाएको छ ।
जडित क्षमता बढेर ४१७ मेगावाट पुगेकाले ऊर्जा उत्पादन अझ बढी हुने भएको छ । आयोजनाको अनुमानित लागत १ खर्ब रुपैयाँ लाग्ने देखाएको छ ।
यो लागत सन् २०१२ को मूल्यका आधारमा तय गरिएको हो । डलर मजबुत भएकाले आयोजनाको लागत अझ बढ्ने सम्भावना छ ।
आयोजना वरिपरि घनाबस्ती नभएकाले करिब २ सय घर मात्र विस्थापन हुने देखिएको छ । आयोजना जाजरकोट जिल्लामा पर्छ । आयोजनाको हेड ६३५ मिटर अग्लो हुने छ ।
सुख्खायाम नोभेम्बरदेखि अप्रिलसम्म ६४ करोड ३२ लाख ९० हजार र वर्षाद मेदेखि अक्टुबरसम्म १५ करोड ८ लाख युनिट बिजुली उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ ।