काठमाडौं । चालू आर्थिक वर्षको साउन (पहिलो) महिनामा शोधनान्तर स्थितिमा सुधार आएको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको साउन महिनाको आर्थिक अवस्थाले यस्तो देखाएको हो ।
राष्ट्र बैङ्कका अनुसार साउनमा शोधनान्तर स्थिति ६ अर्ब ५ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २४ अर्ब ७७ करोड रुपैयाँले घाटामा थियो । यस अवधिमा निर्यात बढेकाले शोधनान्तरमा सुधार आएको राष्ट्र बैङ्कले जनाएको छ ।
साउनमा वस्तु निर्यात २७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३.२ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै, साउनमा चालू खाता घाटामा छ । राष्ट्र बैङ्कका अनुसार साउनमा चालू खाता ८ करोड ४० लाखले घाटामा छ । कुल विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तको १०३८ अर्ब ९२ करोडबाट वृद्धि भई २०७६ साउन मसान्तमा १०६४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकामा २०७६ साउन मसान्तमा ९ अर्ब ३८ करोड छ ।
त्यस्तै, आर्थिक वर्ष २०७६÷७७ को पहिलो महिनामा विस्तृत मुद्राप्रदाय ०.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ०.८ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ साउन मसान्तमा विस्तृत मुद्राप्रदाय १६.३ प्रतिशतले बढेको छ । त्यस्तै, खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) ६ अर्ब ५ करोड (०.६ प्रतिशत)ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति २४ अर्ब ७७ करोड (२.३ प्रतिशत) रुपैयाँले घटेको थियो ।
त्यस्तै, सञ्चित मुद्रा ६.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा १६.२ प्रतिशतले घटेको थियो । त्यस्तै, बैङ्कको निक्षेप ०.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ०.४ प्रतिशतले नै घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ साउन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप १७.९ प्रतिशतले बढेको छ ।
त्यस्तै, साउनमा बैङ्क तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ साउन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १९.२ प्रतिशतले बढेको छ । साउन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६४.१ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.६ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ ।
२०७५ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.६ प्रतिशत र १४.६ प्रतिशत थियो । समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ०.७ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.८ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले बढेको छ ।
त्यस्तै, साउन मसान्तसम्म कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत १७,३२५ जना ऋणीको ३४ अर्ब २६ करोड कर्जा बक्यौता छ । त्यसैगरी, अन्य क्षेत्रतर्फ प्रवाह भएको कर्जामध्ये १३२८ जना ऋणीको ८० करोड ३४ लाख कर्जा बक्यौता रहेको राष्ट्र बैङ्कले जनाएको छ । सरकारले सहुलियतपूर्ण कर्जाका लागि कुल १ अर्ब ६३ करोड ब्याज अनुदान प्रदान गरेको राष्ट्र बैङ्कले जनाएको छ ।