काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सानासाना पूँजी र क्षेत्रमा रहेर व्यापार गर्दै आएका खुद्रा व्यापारीलाई सङ्गठित भएर एकीकृत रुपमा कारोवार गर्न सुझाव दिएका छन।
नेपाल खुद्रा व्यापार सङ्घको ४०औँ वार्षिक साधारणसभामा उनले सबै खुद्रा व्यापारी एक भएर सहकारी ढाँचामा व्यवसाय गर्न आग्रह गरे ।
“अब खुद्रा व्यापारी पनि सङ्गठित हुनुपर्छ, सहकारी ढाँचामा व्यवसाय थाल्नुपर्छ”, उनले भने, “सहकारी ‘मोडल’मा गएपछि ठूला खुद्रा बिक्रेतासँग प्रतिस्पर्धा गर्न पनि सहज हुन्छ ।”
खुद्रा व्यापारमा नेपाली पूँजीको प्रवद्र्धन गर्न यस क्षेत्रमा विदेशी लगानीमा रोक लगाइएको स्पष्ट पार्दै अर्थमन्त्रीले स्वदेशी ठूला व्यापारीसँग प्रतिस्पर्धा गर्न खुद्रा व्यापारी पनि सङ्गठित भएर लाग्नुपर्ने बताए।
खुद्रा व्यापारमा देखिएको समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्दै उनले व्यापारिक सीमा र मर्यादाभित्र रहेर कारोवार गर्न आग्रह गरे । कानूनले सबै व्यापारीलाई समान नजरले व्यवहार गर्ने बताए ।
“यसअघि सानालाई ऐन, ठूलालाई चैन थियो होला”, उनले भने, “तर अहिले ठूला तथा साना सबैलाई ऐन आकर्षित हुन्छ । सानाको नाउँमा खुद्रा व्यापारीलाई पनि चैन हुँदैन ।”
बजारलाई मर्यादित र व्यवस्थित बनाउन आग्रह गर्दै अर्थमन्त्री डा खतिवडाले भने, “अब सबै सुध्रने हो, पहिला हामी सुध्रन्छौँ, अनि व्यापारी पनि सुध्रनुपर्छ ।”
व्यापार व्यवसायलाई पारदर्शी बनाउन सरकारले ‘प्यान’ र मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली ‘भिसिटिएस’ लागू गरेको उल्लेख गर्दैै उनले कोही पनि व्यवसायी त्रासमा हुनु आवश्यक नभएको बताउनुभयो ।
बजार अनुगमनका क्रममा ज्यादती गरिएको पाइए कारवाही हुनेमा विश्वस्त गराउँदै उहाँले अनुगमन टोली आउँदा नडराउन आग्रह गरे ।
मूल्यसूची राख्ने, बिलबिजक जारी गर्ने विषयमा व्यापारी प्रतिबद्ध हुनुपर्नेमा जोड दिँदै अर्थमन्त्री खतिवडाले सरकार खुद्रा व्यापारीलाई सहजीकण गर्न तयार रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानले सरकारले ल्याएको ऐन, नियम, कानूनका बारेमा पर्याप्त जानकारी नराख्दा व्यापारीले अनावश्यक झमेला खेप्नु परेको उल्लेख गर्दै अब उप्रान्त सामान खरीदबिक्री गर्दा अनिवार्यरुपमा बिलबिजक जारी गर्न आग्रह गरे ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले खुद्रा व्यापारीलाई सङ्गठित भएर व्यापार व्यवसायमा लाग्न आग्रह गरे।
भूलवश हुने गल्तीको पनि व्यापारीले ठूलो सजाय भोग्नु परेको उदाहरण दिँदै उनले चर्को जरिवाना र कैदको व्यवस्थाले व्यापारीमा त्रास सिर्जना गरेको बताए । “बिल बिनाको सामान खरीद र बिक्री नगर्न सङ्घले आफ्ना सदस्यलाई सचेत गराउनुपर्छ”,उनले भने ।
सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले खुद्रा व्यापारीको कारोवारको सीमा ५० लाख रुपैयाँबाट बढाएर १ करोड रुपैयाँ पुर्याउन आग्रह गरे।