काठमाडौं । प्रदेशमा खुल्न लागेका लघुबिमा कम्पनीहरुले १० लाख रुपैयाँ सम्मको लघुबिमा गर्न पाउने भएका छन् । प्रस्तावित लघुजीवन बिमा कम्पनीले ३ लाख र लघुनिर्जीवन बीमा कम्पनीले १० लाख रुपैयाँसम्मको लघुबिमा गर्नपाउने व्यवस्था समितिले गर्न लागेको हो ।
समितिले ७ वटै प्रदेशमा लघुबिमा कम्पनी स्थापना गर्न ३५ दिनको समय दिएर लगानीकर्ताहरुबाट प्रस्ताव मागिसकेको छ । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले ग्रामीण क्षेत्रमा बिमाको पंहुच बढाउन सातवटै प्रदेशमा लघुबिमा कम्पनी स्थापना गर्न लागेको जानकारी गराएका छन् ।
उनले कम्पनी सञ्चालनमा आएपछि लघुबिमा पहंच बढेर १० प्रतिशत जनतामा पुग्ने बताए । हाल २ प्रतिशत जनसंख्यामा मात्र लघुबिमा पुगेको अध्यक्ष सिलवालको भनाई छ ।
समितिले सोमबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सिलवालले सरकारले लिएको नीतिअनुसार बिमा पहुंच बढाउन लघुबिमा कम्पनीको अनुमतिपत्र (लाइसेन्स) खुलाएको जानकारी गराए ।
सरकारले गत वर्षको बजेटमा कूल जनसंख्याको १० प्रतिशतमा लघुबिमा पहुँच पुर्याउनुपर्ने लक्ष्य राखेको थियो । सरकारले राखेको १० प्रतिशतको लक्ष्य १६ वर्षमा २ प्रतिशतमात्र पुगेको सिलवालले बताए ।
ठूला बिमा कम्पनीले लक्ष्य अनुरुप लघुबिमा पहुँच पुर्याउन नसक्दा नयाँ लघुबिमा कम्पनी अघि बढाइएको सिलवालले स्पष्टपारे ।
उनले गाउँ गाउँमा बिमाको पहुँच पुर्याउने उद्देश्यले लघुबिमा प्रक्रिया अगाडि बढेको उनले बताए ।
हाल समितिले नयाँ बिमा कम्पनीको लाइसेन्सको लागि आवेदन दिन आह्वान गरेको छ । समितिले ग्रामिण एंव दुर्गम भेगमा बसोबास गर्ने नागरिकले स–सानो रकमबाट आफूर आफ्नो परिवार, घर, व्यवसाय खेतिपाती, पशुपन्छी र जडिबुटी लगायतको बिमा गरी जोखिम कम्पनीहरुलाई हस्तान्तरण गरिने बताएको छ ।