भक्तपुर। बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले प्रदेशका १३ वटा जिल्लामा पर्यटन क्षेत्रको विकासका लागि आगामी आवको बजेटमा चार अर्बको बजेट विनियोजन गरेको बताएका छन्।
मन्त्रालयको आयोजना तथा राष्ट्रिय सञ्चार केन्द्र नेपालको सहकार्यमा केन्द्रमा आज आयोजना गरेको पर्यटन क्षेत्रको सम्भावना, चुनौती र भावी कार्यदिशा विषयक अन्तरक्रिया उनले नेपालको आयको मूल आधार पर्यटनलाई बनाउन सकिने बताए।
उनले नेपालको छिमेकी मुलुक भारत र चीनका नागरिकलाई मात्रै नेपालका पर्यटकका रूपमा भित्र्याउन सके पर्यटन व्यवसायदेखि देशको अर्थतन्त्रले ठूलो फड्को मार्ने बताए। नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरेले चालू आर्थिक वर्षमा नेपाल सरकारले आन्तरिक तथा बाह्य गरी १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा हालसम्म करिब १३ लाख पर्यटकको आगमन भइसकेको बताए।
पर्यटन क्षेत्र राज्यको आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्दै उनले कूल अर्थतन्त्रमा पर्यटन क्षेत्रको २.५ प्रतिशत योगदान रहेको बताए। पर्यटन क्षेत्रमा प्राथमिकता, पूर्वाधार र प्रवर्द्धनमा तीन वटै तहका सरकारको समन्वय अपरिहार्य रहेको उनको भनाइ थियो।
होटल व्यवसायी महासंघ नेपाल बागमतीका अध्यक्ष दामोदर नेपालले नेपाल पर्यटन क्षेत्रमा सम्भावनाको खानी भएको चर्चा गर्दै गाउँ-गाउँका पर्यटकीय क्षेत्रको विकास अपरिहार्य रहेको औँल्याए। होटल संघ नेपाल बागमती प्रदेशका अध्यक्ष रामसुन्दर बकेले लगानीकर्ताले पर्यटन व्यवसायमा लगानी गर्न चुनौती रहेको बताउँदै देशको आर्थिक उन्नति गर्न होमस्टेको विकास गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिका ३ अध्यक्ष कृष्णहरि आचार्य, बागमती प्रदेश पर्यटन कार्यालय काठमाडौंका प्रमुख पदम पोखरेल, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, संस्थाका उपाध्यक्ष पुष्करराज बुढाथोकी र सल्लाहकार दिवश गुरागाईंले पर्यटन क्षेत्रको विकासका लागि तीन तहकै सरकार सक्रिय हुनुपर्ने बताए। संस्थाका अध्यक्ष पेशलकुमार आचार्यले पर्यटन क्षेत्रको विकास तीन तहकै सरकारको चासो हुनुपर्ने र ओझेलमा पर्न नहुने बताए।