काठमाडौं । आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वतजस्ता चाडपर्वका अवसरमा सेवाग्राहीहरूलक्षित गर्दै सेवाग्राहीमुखी दसैँ अफर सार्वजनिक गरेको छ ।
बुधबार पानीपोखरी काठमाडौंस्थित आइएमई केन्द्रीय कार्यालयमा फेसबुक लाइभमार्फत उक्त अफर सार्वजनिक गरिएको हो ।अफरअनुसार विदेशबाट आइएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ ।
साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने दुई जनालाई २५ हजार रुपैयाँका दर उपहार स्वरूप प्रदान गरिने कम्पनीले जनाएकाे छ । त्यस्तै, अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ।
अफर सार्वजनिक कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ब्रान्ड एम्बास्डर दीपकराज गिरी, आइएमई ग्रुपका भाइस प्रेसिडेन्ट रूद्रराज पौडेललगायत ग्रुपमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बाेल्दै ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईले आफ्नो स्थापनादेखि नै यस्ता अफर ल्याउँदै आएको स्मरण गर्दै यस्ता अफरले सेवाग्राही, व्यावसायिक साझेदार र कम्पनीबीचको त्रिपक्षीय सम्बन्धलाई मजबुत बनाउने बताए । देशको आर्थिक क्रियाकलापमा रेमिट्यान्सको भूमिका महत्त्वपूर्ण छ भन्ने कुरा अहिले आएर झनै प्रष्ट भएको छ ।
उनका अनुसार विदेशबाट आउने रेमिट्यान्स बढाउन सबैले अ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ । रेमिट्यान्स आप्रवाहलाई बढाउन, रेमिट्यान्स पठाउँदा औपचारिक माध्यमबाट नै पठाउन यस्ता अफरहरूको आवश्यकता पर्ने अध्यक्ष ढकालले बताए ।
अध्यक्ष ढकालले एक फरक प्रसंगमा गैर आवासीय नेपाली संघसँगको सहकार्यमा निर्माण सम्पन्न भएको २७ मेघावाट क्षमताको दोर्दी खोलाको विद्युतीय उत्पादन हिजो मात्र राष्ट्रिय प्रसारण केन्द्रमा जोडिएकोमा खुसी व्यक्त गरे । विदेशबाट आउने रेमिट्यान्सलाई यस्तै संघ/संस्थाहरूसँग सहकार्य गरी उत्पादनशील क्षेत्रमा आकर्षित गर्न आइएमई ग्रुप तयार रहेको जानकारी दिए ।
कार्यक्रममा बाेल्दै ब्रान्ड एम्बास्डर दीपकराज गिरीले आइएमईको अफरमा सहभागी हुन् आम सेवाग्राहीहरूलाई आग्रह गरे । भाइस प्रेसिडेन्ट रूद्रराज पौडेलले चाडपर्वको समयमा रेमिट्यान्स बढ्ने भएकाले समयमै झन्झटरहित ढंगले रेमिट्यान्स सेवा दिन कम्पनीले त्यहिँ अनुरूपको तयारी पूरा गरेको बताए ।
कुल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थीममा आधारित हुनेछ । उक्त अफर भाद्र १६ गतेदेखि कार्तिक १६ सम्म कायम हुनेछ ।
यस सम्बन्धी सूचनाहरू आइएमईकाे आधिकारिक वेभ पेज, केन्द्रीय कार्यालय, विदेशस्थित सम्पर्क कार्यालयहरू, नेपालका सम्पूर्ण क्षेत्रीय सम्पर्क कार्यालयहरूका अतिरिक्त सम्पूर्ण व्यावसायिक साझेदारसँग उपलब्ध हुनेछ ।
विजेतालाई लक्की ड्र मार्फत सार्वजनिक गरिनेछ भने नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू तथा मिडियामार्फत सार्वजनिक गरिनेछ ।