काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगुका बिरामी बढ्दै गएपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरू गरेकाे छ ।
महानगरको ३२ वटै वडामा सञ्चालन भइरहेको महानगरका स्वास्थ्य प्रमुख बलराम त्रिपाठीले जानकारी दिए । पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन र निरन्तर सरसफाइका लागि जनचेतनामूलक अभियान अगाडि बढाइएको त्रिपाठीले बताए ।
‘सबै वडाका स्वास्थ्य फोर्कल पर्सन तथा स्वास्थ्यकर्मीलाई तालिम दिएका दिएका छौं । डेंगुबारे जनचेतना फैलाउन घरदलो अभियानमा महिला स्वास्थ्यसेविका, स्थानीय संघसंस्था र जनप्रतिनिधिता सहभागी भएका छन्,’ उनले भने ।
डेंगुको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम भइरहेको महानगरले जनाएको छ । ‘घरमा भएका गमला, ड्रम, तथा सफा पानीमा डेंगुका लार्भा छन् । घरभित्रनै लामखुट्टे उत्पादन गर्ने कारखाना भइसकेको छ,’ उनले भने, ‘समान्य जानकारी नहुँदा डेंगु फैलिरहेकाले छ । यसलाई नियन्त्रण गर्न खोज र नष्ट गर अभियान सुरु गरेका हौं ।’
त्यसका साथै स्कुल–स्कुलमा पुगेर बालबालिका मार्फत डेंगु नियन्त्रणका लागि सचेतनाको कार्यक्रम महानगरले गरिरहेको छ ।
डेंगु भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोटल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ ।
डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । एडिज नामक लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्छ । साे लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ ।
दिउँसै टोक्ने लामुखट्टेले डेंगु सार्ने भएकाले घरसँगै विद्यालय, कार्यालय र सार्वजनिक स्थलमा पनि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने चिकित्सकहरू बताउँछन् ।