काठमाडौं । जाजरकोटमा अवस्थित ४१७ मेगावाटको नलसिंहगाड जलासययुक्त आयोजना अघि बढ्ने भएको छ । जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन र जापानी विकास नियोग (जाइका) का कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावाबीच बिहीबार टोकियोमा भएको भेटवार्तामा आयोजनालाई अघि बढाउने विषयमा सहमति भएको हो ।
उर्जामन्त्री पुनले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा उक्त आयोजना अघि बढाउने गरी प्रस्ताव गरेको प्रेस संयोजक रोशन खड्काले बताए । उनकाअनुसार उक्त आयोजनालाई जाइकाले उच्च प्राथमिकतामा राखेको जानकारी गराएको छ । छलफलको क्रममा जाइकाका उपाध्यक्ष कोशिकावाले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्ने प्रतिवद्धता समेत जनाएका छन ।

‘जाइकासंगको छलफल अत्यन्तै सकरात्मक भएको छ, विस्तृत इन्जिनियरिङ (डीपीआर) तयारी लगत्तै आयोजनालाई अघि बढाउने गरी पहल थाल्ने प्रतिवद्धता जनाएको छ’ उनले भने ‘यसले मूर्त रुप पाउनेमा म आशावादी छु ।’
मन्त्री पुनले कुलेखानी जलाशययुक्त आयोजना र कन्काई सिंचाइ आयोजनामा जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
आगामी १० वर्षमा नेपालले १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र उत्पादित बिजुली बेच्नका लागि भारत र बंगलादेशसंग सम्झौता भइसकेको मन्त्री पुनले जानकारी गराए ।
जापानका २५ ऊर्जा कम्पनीका प्रतिनिधिले भेटे उर्जामन्त्री
मन्त्री पुनले जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन। चार दिने जापान भ्रमणमा रहेका मन्त्री पुनले २५ भन्दा बढी कम्पनीका प्रतिनिधी र १०० सहभागी भएको अन्र्तरक्रिया कार्यक्रममा नेपालको जलविद्युतमा लगानी गर्न सरकारले उपयुक्त वातावरण बनाएको जानकारी गराएका थिए ।
कार्यक्रममा मन्त्री पुनले जापानी लगानीकर्तालाई नेपाली लगानीकर्तासरह सुविधा दिने घोषणा समेत गरेका छन । ‘तपाईहरुले नेपालमा लगानी गर्नुभयो भने हामीले नेपाली लगानीकर्तासरह नै सुविधा दिन्छौ’ उनले भने ‘उत्पादित बिजुली पनि हामीले नै खरिद गर्छौ, बजारको पनि चिन्ता नगर्नुहोस् ।’
मन्त्री पुनले उत्पादकले चाहेमा छिमेकी देशमा बेच्ने वातावरण समेत बनाइदिने प्रतिबद्धता जनाएका थिए । अन्तरक्रियामा जापानमा जलविद्युतको क्षेत्रमा काम गरिरहेका तोसिबा, कान्साई, टोकियो ईलेक्ट्रोनिक्स, न्युजेक ईलेक्ट्रोनिक्सलगायत कम्पनी सहभागी थिए । कार्यक्रमको संयोजन समेत जाइकाले गरेको थियो ।
भेटवार्तामा उर्जा मन्त्रालयका सहसचिव तोया अधिकारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतका उच्च अधिकारी सहभागी थिए ।
याे पनि पढ्नुहाेस्
https://जाइकाले ४१७ मेगावाटको नलसिंहगाडमा लगानी गर्ने, जापानमा एमओयू हुँदै