चितवन । त्रिभुवन राजपथअन्तर्गत नौविसे–नागढुङ्गा सडक खण्ड मर्मत सम्भारमा निकै कठिनाइ हुँदै आएको छ । सो सडक खण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुङ्गा सडक खण्डको दुई किलोमिटर डिभिजन सडक कार्यालय काठमाडौँले हेर्ने गर्दछ ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारी सो सडक खण्ड मर्मतसम्भार गर्न निकै कठिन हुने गरेको बताए । सडक मर्मत नगर्दा पनि नहुने र गर्दा पनि जस नपाइने गुनासो उनको छ । १० मिनेट सडक रोक्दा तीन किलोमिटरसम्म सडक जाम हुने गरेको अधिकारी बताए । सो क्षेत्रमा ६ देखि ७ मिटर मात्र सडक चौडा रहेको छ । सोही सडक हुँदै दैनिक १४ हजार हाराहारी सवारीसाधन राजधानी प्रवेश र बाहिरिने गर्दछन् । (रासस)
सो खण्डमा मर्मतसम्भारका लागि गत वर्ष बोलपत्र आह्वान गरिए पनि कसैले पनि बोलपत्र समावेश गरेनन् । यस वर्ष पनि पहिलो बोलपत्र कसैको पनि नपरेको अधिकारी बताउनुहुन्छ । दोस्रो बोलपत्रको तयारी भइरहेको छ । काम गर्न नसक्ने भएपछि ठेकेदार कम्पनीहरूले मुग्लिनदेखि पिप्लामोडसम्म नै मर्मतका लागि बोलपत्र समावेश नगर्ने गरेको उनको भनाइ छ ।
यस वर्षको दशैँअघि मालवाहक सवारीका कारण धसिएको क्षेत्र मर्मत गर्न थालेको भए पनि काम गर्न नसकिएको सो क्षेत्र हेर्दै आउनुभएका इन्जिनीयर हरिकुमार ठकुरी बताउछन् । साउन र भदौ महीनाका अधिकांश समय पानी परेका कारण असोजको पहिलो साता ती खाल्डा पुर्न शुरु गरिएको भए पनि सवारी चापका कारण काम सक्न नसकिएको ठकुरीले बताए ।
यही असोज ५, ६ र ७ गते दैनिक एक घण्टा मात्रै एकतर्फी सवारी रोकेर खाल्डा परेका ठाउँमा कालोपत्रे गरिएकामा सवारी चाप बढेपछि रोकिएको छ । प्रमुख अधिकारीले भने “असोज ७ गते बेलुकाबाट हामीले सवारी रोकेर काम गरेका छैनाँै । सवारी चापकै कारण सडकमा समस्या देखिएको हो ।” रातको समयमा पनि सवारी चापकै कारण काम गर्न सकिएको छैन । सो सडक खण्डको चितवनले हेर्ने क्षेत्रको ८० प्रतिशत मर्मतसम्भारको काम सकिएको उहाँको भनाइ छ । गणेश मन्दिर आसपासको क्षेत्र मात्र बाँकी रहेको छ ।
दशैँको नवमी र टीकाका दिन सवारी चाप घट्ने भएकाले काम गर्ने मानिस भेटिएमा सोही दिन केहीबेर एकतर्फी सवारी रोकेर काम गर्ने तयारी सडक कार्यालयले गरेको छ । ठेक्का कसैको पनि नपरेपछि सोही सडक खण्डमा रणनीतिक सडक मर्मतअन्तर्गत भित्तामा काम गर्दै आएको जिएमआर कन्सट्रक्शनको सहयोग लिएर मर्मतको काम भइरहेको छ । सडकमा सवारी नरोकेर नै खाल्डा परेका ठाउँमा भर्ने काम भने अहिले पनि भइरहेको छ ।
दशैँका बेला सडक नरोकियोस् भन्नका लागि भरतपुर, नौबिसे, गल्छी, गजुरी र फिस्लिङमा लोडर तयारी अवस्थामा राखिएको छ । भरतपुर र गल्छीमा पहिरो पन्छाउने व्याक हुसमेत राखिएको कार्यालयले जनाएको छ । सो सडक खण्डमा ट्राफिक प्रहरीले पनि लोडर र क्रेन तयारी अवस्थामा राखेको छ । यही सडक खण्ड मर्मतका लागि सीतापाइला धार्के सडक सञ्चालन गर्नुपर्ने विज्ञ इन्जिनीयरहरू बताउँछन् । अन्यथा काम गर्न निकै कठिन हुने उनीहरूको भनाइ छ ।