काठमाडौँ । सामाजिक सुरक्षा कोषमा दर्ता हुने निजी व्यावसायिक संस्थाहरुको संख्या ५ हजार नाघेको छ । सरकारले असोज मसान्तसम्म कोषमा दर्ता गर्न कडाइ गरेपछि विशेष गरी निजी क्षेत्रका ठूला रोजगारदाताहरुको संख्या बढेको हो ।
दर्ता हुने नेपालका ठूला व्यावसायिक संस्थाहरुमा सीजी, गोल्छा अर्गनाइजेसन, डाबर नेपाल, गरूड, गोल्यान समूह, नोबेल मेडिकल, ट्रिनिटी, शंकर ग्रुप, वर्ल्ड लिंक, ईसेवा, सूर्य नेपाल, मेडिकेयर, किस्ट मेडिकल, होटल ग्राण्डी, टाइगर, युनिलिभर तथा होटल अन्नपूर्णलगायतका रहेको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए । । मनकामना केबलकारका कर्मचारीहरु पनि गत बर्ष सुचिकृत भइसकेका छन् । उनका अनुसार हालसम्म ५ हजार २ सय वटा ठूला रोजगारदाता कोषमा दर्ता भएका छन्
कोषमा दर्ता गर्ने अन्तिम समय असोजसम्मका लागि तोकिएको छ । ‘असोज मसान्तसम्म सबै रोजगारदाताहरु आउँछन् भन्ने विश्वास छ ’ कार्यकारी निर्देशक ज्ञवालीले भने । उनका अनुसार ८० हजारभन्दा बढी कर्मचारी कोषमा दर्ता भइसकेका छन् ।
कोषले यस वर्ष निजी सङ्गठित संस्था तथा त्यहाँ कार्यरत कर्मचारीबाट योगदान रकम ४० अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । औद्योगिक प्रतिष्ठान सूचीकृत हुने क्रम बढेकोले कोषको आकार बढ्ने देखिएको कार्यकारी निर्देशक ज्ञवालीले बताए । उनले भने, ‘कोषले आफ्नो सञ्जाल (नेटवर्क) बलियो बनाइरहेको छ । सञ्जाल विस्तार गर्न कर्मचारीलाई इन्सेटिप दिएर काठमाडौँ बाहिरका जिल्लाहरुमा खटाएका छौ ।’
गत वर्ष साउन १ गतेदेखि सामाजिक सुरक्षा योजना पूर्णरुपमा कार्यान्वयनमा आएको छ । यही असोज मसान्तभित्र सम्पूर्ण रोजगारदाता र आफूसँग श्रम सम्बन्ध कायम गरेका श्रमिकलाई कोषमा सूचीकृत गराउनुपर्ने व्यवस्था छ ।
कोषले संकलित योगादान रकम लगानी गर्न योजना तयार गर्दै छ । जलविद्युत् यातायातलगायत पूर्वाधार, पर्यटन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उनको भनाइ छ । ६ महिनाको सङ्कलित रकम ‘प्रोभिजिनिङ’मा राख्नुपर्ने व्यवस्था रहेकाले यस वर्षको अन्त्यदेखि लगानी शुरु गर्ने योजना कोषको छ ।