काठमाडौं। विश्व पर्यटन दिवसको अवसरमा नेपाल उद्योग परिसंघको पर्यटन परिषद्ले नेपालको कला संस्कृतीलगायत नयाँ पर्यटकीय सम्भावनाहरू उजागर गर्ने विषयमा छलफल गरेकाे छ।
परिसंघले मंगलबार कार्यक्रमकाे आयाेजना गरेर छलपफल गरेकाे हाे। कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत पर्यटन पनि भएको बताए ।
विदेशी मुद्रा भित्र्याउन पर्यटन दिगो र भरपर्दो स्रोत भएकाले पर्यटन उद्योगको प्रवर्द्धन र विकासलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए। रोजगारीका लागि विदेशीन बाध्य जनशक्तिलाई नेपालमै सम्मानजनक र राम्रो आयसहितको रोजगारी दिलाउन पनि पर्यटन क्षेत्रको उन्नत विकासले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।
नेपाल उद्योग परिसंघको उपाध्यक्ष समेत रहेका परिसंघ पर्यटन परिषद्का सभापति राजबहादुर शाहले कोभिड १९ को असरबाट विस्तारै बाहिर आएको निजी क्षेत्रलाई बलियोसँग उभिएर पर्यटन क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन सरकारले नीतिगत सहयोग गर्नुपर्ने बताए।
नागरिकस्तरबाट पनि कोभिडका बेलामा बढेको आन्तरिक घुमफिरको ट्रेन्डले निरन्तरता पाउन सके पर्यटन व्यसायीहरुलाई नयाँ गन्तव्यहरु खोज्न, नयाँ प्रडक्ट, प्याकेजहरु ल्याउन उत्साह मिल्ने उनकाे भनाइ छ।
यस वर्षको विश्व पर्यटन दिवसको नारा ‘रिथिङ्किङ टुरिज्म’ रहेको सन्दर्भमा परिसंघको पर्यटन परिषद्ले तयार पारेको नेपालको आगामी पर्यटनको कार्यदिशा सम्बन्धी सुझावात्मक योजना परिसंघका महानिर्देशक दिपकराज जोशीले प्रस्तुत गरे। उक्त सुझाव पर्यटनसँग सम्बद्ध निजी तथा सरकारी निकायहरुलाई उपलब्ध गराइनेछ।
कार्यक्रममा पर्यटन व्यवसायसँग सम्बन्धित संघसंस्था, नेपालस्थित राजदूत एवं विकास साझेदार प्रतिनिधिहरू, उद्योगी व्यवसायीका प्रतिनिधिमुलक संघसंस्थाहरूका प्रतिनिधिहरूको सहभागिता थियो।
उक्त अवसरमा चाडपर्वको शुभकामना आदनप्रदान पनि गरिएको थियो ।