जापान। विश्वभरका पर्यटकको आकर्षणको केन्द्र मानिने जापानको राजधानी टोकियोस्थित ओदाइबामा यही जुलाई १८, १९ र २० गते तीनदिने नेपाल फेस्टिभल २०२६ आयोजना हुने भएको छ। जापानमा आयोजना हुँदै आएको नेपाल फेस्टिभलमध्ये यस वर्षको संस्करण सबैभन्दा विशेष र अन्तर्राष्ट्रिय पहुँच भएको हुने आयोजकको विश्वास छ।
नेपाल राजदूतावास, जापान, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान तथा आदिवासी जनजाति महासंघ, जापान को संयुक्त आयोजनामा हुन लागेको यो कार्यक्रम टोकियोमा आयोजना हुन लागेको १५औँ नेपाल फेस्टिभल हो। एनआरएनए जापानका प्रवक्ता सचिन आचार्य का अनुसार यसपटकको फेस्टिभल नेपाली समुदायमा मात्र सीमित रहने छैन, बरु जापान भ्रमणमा आएका हजारौं विदेशी पर्यटकसमक्ष नेपालको संस्कृति, पर्यटन, कला र सभ्यतालाई प्रत्यक्ष रूपमा परिचित गराउने महत्वपूर्ण अवसर बन्ने छ।
उनले भने, 'ओदाइबा जापानी तथा विदेशी पर्यटकहरूको अत्यन्त लोकप्रिय गन्तव्य हो। यसपटक नेपाल केवल जापानमा बस्ने नेपालीमाझ मात्र होइन, संसारका विभिन्न देशबाट टोकियो भ्रमणमा आएका पर्यटकमाझ पनि पुग्ने छ। नेपाल फेस्टिभलले हाम्रो देशको मौलिक संस्कृति, पर्यटन र राष्ट्रिय पहिचानलाई विश्वसामु प्रस्तुत गर्ने महत्वपूर्ण माध्यम बन्ने छ।'
फेस्टिभलमा नेपाली मौलिक परिकार, विभिन्न जातजातिका सांस्कृतिक झाँकी, बाजागाजा, गुरुङ, मगर तथा अन्य समुदायका परम्परागत नृत्य, लोकसंस्कृति, हस्तकला तथा ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुतिले नेपाललाई बहुआयामिक रूपमा चिनाउने अपेक्षा गरिएको छ। आयोजकका अनुसार कार्यक्रमले नेपाललाई प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र धार्मिक सम्पदाले सम्पन्न मुलुकका रूपमा अन्तर्राष्ट्रिय दर्शकमाझ थप प्रभावकारी ढंगले स्थापित गर्न सहयोग पुर्याउने छ।
एनआरएनए जापानका अध्यक्ष सुबास लामिछाने का अनुसार करिब २ करोड जापानी येन लागत अनुमान गरिएको यस फेस्टिभलबाट संकलित रकम नेपाल हाउस जापान निर्माण अभियानमा लगानी गरिने छ। जापानको चिबा मा निर्माणाधीन नेपाल हाउसलाई नेपाली समुदायको साझा पहिचान, संस्कृति र पर्यटन प्रवर्द्धनको केन्द्रका रूपमा विकास गर्ने योजना छ। यहाँ पशुपतिनाथ मन्दिर र बौद्ध स्तूप का प्रतिरूपसहित नेपालको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदालाई झल्काउने संरचनाहरू निर्माण गरिने लक्ष्य राखिएको छ।
आयोजकका अनुसार नेपाल फेस्टिभल केवल सांस्कृतिक उत्सव मात्र नभई नेपाललाई विश्व पर्यटन बजारमा थप स्थापित गर्ने, नेपाल–जापान सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपालको कला, संस्कृति, पर्यटन, मौलिक उत्पादन र नेपालीपनलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रवर्द्धन गर्ने साझा अभियानका रूपमा आयोजना गर्न लागिएको हो।
ओदाइबाजस्तो विश्वप्रसिद्ध पर्यटकीय क्षेत्रमा आयोजना हुने यस वर्षको नेपाल फेस्टिभलमा हजारौं नेपालीसँगै जापानी नागरिक र विभिन्न मुलुकबाट आएका पर्यटकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।