काठमाडौं । गैरआवासीय नेपालीले प्रवर्द्र्धन गरेको सानिमा ग्रुपले ११५ मेगावाट क्षमताका ३ जलविद्युत् आयोजना निर्माण थालेको छ । सानिमा ग्रुपले ७३ मेगावाटको मध्यतमोर, २८.१ मेगावाटको लिखुखोला र १४.३ मेगावाटको मैलुङखोला आयोजना निर्माण गरिरहेको छ ।
आन्तरिक खपतका लागि आयोजना निर्माण सुरु भएको हो । सबै आयोजना नदीको बहावमा आधारित (रन अफ दि रिभर) प्रकृतिका छन् । ग्रुपले निर्माण गरिरहेको मध्यतमोर ताप्लेजुङ, लिखु रामेछाप र मैलुङखोला रसुवा जिल्लामा पर्छ ।
२.५ मेगावाटको सुनकोसी साना जलविद्युत् आयोजना निर्माण गरेर जलविद्युतमा प्रवेश गरेको सानिमा ग्रुपले २२ मेगावाटको सानिमामाई र ७ मेगावाटको सानिमा माइ क्यासकेड गरी ३१.५ मेगावाटका ३ आयोजना सञ्चालन गरिरहेको छ ।
यी आयोजनामा सर्वसाधारणको सेयर लगानी छ । थप ३ ओटा आयोजना बनेपछि जडित क्षमता १४५ मेगावाट पुग्ने छ । सबै आयोजना सहायक कम्पनीमार्फत निर्माण सुरु भएको छ ।
निर्माण सुरु गरेको ३ ओटै आयोजना २०७७ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तल्लो लिखु आयोजना स्वेतगंगा हाइड्रोपावर एन्ड कन्ट्रक्सन लिमिटेड, मध्यतमोर सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड र माथिल्लो मैलुङखोला माथिल्लो मैलुङखोला हाइड्रोपावर लिमिटेड मार्फत निर्माण गर्ने भएको छ ।
यस्तै सानिमाले २८५ मेगावाटको माथिल्लो तमोर, ६२ मेगावाटको जुमखोला र ७.५ मेगावाटको माथिल्लो मैलुङखोला ‘बी’ आयोजना पनि निर्माणको तयारीमा छ । यी आयोजनाको सम्भाव्यता अध्ययन सुरु गरिसकेको छ । माथिल्लो तमोर, तमोर सानिमा इनर्जी लिमिटेडमार्फत निर्माण हुने कम्पनीले जनाएको छ ।
प्रस्तावित आयोजनाका काम अघि बढाउन सानिमा माइले ६५ करोड ३२ लाख रुपैयाँ अग्रिम लगानी गरेको जानकारी दिएको छ । यी आयोजनामा सानिमा माइले १ अर्ब ८ करोड ८२ लाख ५० हजार रुपैयाँ स्वपुँजी (इक्विटी) लगानीको योजना तयार पारेको छ ।
बाँकी लगानी बैङ्क तथा वित्तीय संस्थाबाट जुटाउने योजना सानिमाको छ । सानिमा ग्रुपले जलविद्युतका अतिरिक्त बैङ्क, बिमा र होटल जस्ता सेवा क्षेत्रमा लगानी विस्तार गरिरहेको छ । ग्रुपले जलविद्युतका अतिरिक्त सानिमा बैङ्क, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, अंकमा होटलमा लगानी छ ।