काठमाडौं । आर्थिक वर्ष २०७९/८० को दुई महिनामा आयात र निर्यात दुवै घटेको छ । भदौ महिनामा निर्यात ३४.९ प्रतिशत र आयात १३ प्रतिशतले घटेको छ ।
भदौमा निर्यात ३४.९ प्रतिशतले घटेर २८ अर्ब ६८ करोड पुगेको छ ।अघिल्लो वर्षको सोही निर्यात ११५.४ प्रतिशतले वृद्धि भएको थियो ।
भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४५.२ प्रतिशत र २१.६ प्रतिशतले घटेको छ भने अन्य मुलुकतर्फको निर्यात १३.२ प्रतिशतले वद्धि भएको छ ।
नेपालबाट जिंक सिट, ऊनी गलैंचा, पार्टिकल बोर्ड, तयारी पोसाक, औषधी (आयुर्वेदिक) लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, अलैंची, दन्तमञ्जनलगायतका वस्तुको निर्यात घटेको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७९/८० को दुई महिनामा कुल वस्तु आयात १३ प्रतिशतले घटेर २ खर्ब ७३ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५.९ प्रतिशतले बढेको थियो ।
भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.५ प्रतिशत, १३.३ प्रतिशत र २०.७ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधि, हवाईजहाज तथास्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल, एमएस विलेट लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर र तातोपानी बाहेकका प्रमुख नाकाबाट भएको आयातमा घटेको छ ।
आर्थिक वर्ष २०७९/८० को दुई महिनामा कुल वस्तु व्यापार घाटा ९.४ प्रतिशतले घटेर २ खर्ब ४४ अर्ब ९२ करोड पुगेको छ ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ७०.८ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १४.० प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी २६ अर्ब २३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तोआयात ३६ अर्ब २७ करोड रूपैयाँ बराबरको भएको थियो ।