काठमाडौं। नेपालमा चल्ने सवारीसाधनमध्ये दुईपांग्रे सबैभन्दा बढी चल्नेमा पर्छ र तिनमा पनि हाल विद्युतीय दुईपांग्रे साधनप्रति आकर्षण बढ्दो छ।
पछिल्ला तीन महिना (साउन–असोज) मा नेपाल भित्रिएका मोटरसाइकल तथा स्कुटरको आँकडाले पनि नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण बढेको देखिएको हो। तीन महिनामा चीनबाट १ हजार ८ सय ९ थान विद्युतीय मोटरसाइकल तथा स्कुटर भित्रिएको भन्सार विभागले जनाएको छ।
तथ्यांकअनुसार हङकङबाट दुई र भारतबाट ६ सय ६६ विद्युतीय मोटरसाइकल तथा स्कुटर आयात भएका छन्। नेपालमा चीन, भारत र हङकङबाट २ हजार ४ सय ७७ थान विद्युतीय बाइक तथा स्कुटर आयात भएका छन्।
हाल नेपालमा उपलब्ध केही प्रमुख विद्युतीय बाइक तथा स्कुटर यस्ता छन् :
नियु
नियु ब्रान्डका स्कुटर नेपाली बजारमा चार वर्षदेखि उपलब्ध छ। यो सन् २०१८ बाट नेपाल भित्रिएको थियो। अन्य विद्युतीय स्कुटरको तुलनामा लामो दुरी पार गर्नसक्ने भएकाले नियु मन पराउनेको संख्या धेरै छ।
अहिले नेपालमा २ लाख ७६ हजारदेखि ४ लाख ९५ हजार रूपैयाँसम्मका स्कुटर उपलब्ध रहेको नियुकी सेल्स अफिसर आरती पौडेलले जानकारी दिइन्।
‘योभन्दा केही समयअघि लगभग डेढ लाखदेखि ४ लाख रूपैयाँसम्मका स्कुटर हामीसँग थिए,’ पौडेलले क्यापिटल नेपालसँग भनिन् ‘अहिले भने २ लाख ७६ हजारदेखि ४ लाख ९५ हजारसम्मका स्कुटर उपलब्ध छन्।’ कम्पनीले नियु ब्रान्डका स्कुटरको ब्याट्रीमा दुई वर्षको वारेन्टी दिएको छ।
सेगवे नेपाल
गत वर्ष भित्रिएको सेगवे नेपाल छोटो दुरीका लागि उपयोगी मानिन्छ। यो इलेक्ट्रिक स्कुटर तीन मोडलमा उपलब्ध छ। सेगवे नेपालकी सेल्स एक्जिक्युटिभ देविका श्रेष्ठका अनुसार हाल नेपालमा २ लाख ९१ हजारदेखि ३ लाख ९१ हजार रुपैयाँसम्मका स्कुटर उपलब्ध छन्।
कम्पनीले तीन मोडलका स्कुटर उपलब्ध गराएको छ। जसमा ‘ई१००’ को २ लाख ९१ हजार, ‘सेगवे गोकार्ट प्रो’ को ३ लाख ६५ हजार र ‘ई१२५’ को ३ लाख ९१ हजार रुपैयाँ पर्छ। सेगवेको नेपालमा उपलब्ध स्कुटरका ब्याट्रीमा तीन वर्ष वारेन्टी छ।
प्योर ईभी
प्योर ईभीको इलेक्ट्रिक स्कुटर तथा बाइक नेपालमा २०२१ मा भित्रिएको हो। यो ब्रान्डका स्कुटर तथा बाइक नेपालमा चलेको ब्रान्डका रूपमा लिइन्छ। हाल नेपालमा प्योर ईभीका २ लाख ६० हजार र २ लाख ७५ हजार गरी दुई मोडलका स्कुटर उपलब्ध छन्।
त्यस्तै ३ लाख ९९ हजार रुपैयाँ पर्ने बाइक पनि रहेको प्योर इभीका प्रबन्धक झलक थापाले जानकारी दिए। यसलाई एकपटक फुल चार्ज गर्दा १ सय १६ किलोमिटर कुद्ने कम्पनीको दाबी छ।
बेला ईभी
बेला ईभी नेपालमा २०१८ मा भित्रिएको ईलेक्ट्रिक स्कुटर हो। यसलाई फुलचार्ज गर्न चारदेखि ६ घन्टा लाग्छ भने एकपटक फुल चार्ज गरेपछि ७५ किलोमिटर कुद्छ। यो स्कुटर नेपालमा १ लाख ७० हजारदेखि २ लाख १० हजार रुपैयाँसम्मका उपलब्ध रहेको कम्पनीले जनाएको छ।
हिरो इलेक्ट्रिक
भारतीय कम्पनीले विश्वबजारमा ल्याएको हिरो इलेक्ट्रिक ब्रान्ड नेपालमा २०२० मा भित्रिएको हो। यो ब्रान्डका स्कुटर नेपालमा २ लाख ४९ हजारदेखि ३ लाख ९ हजार रूपैयाँसम्ममा किन्न पाइन्छ। यसको ब्याट्री फुलचार्ज हुन चारदेखि पाँच घन्टा लाग्ने कम्पनीले जनाएको छ।
टेल्जी
नेपालमा टेल्जी ब्रान्ड २०२० मा सबैभन्दा बढी आयात भएको इलेक्ट्रिक स्कुटरमध्ये एक हो। यो स्कुटर २ लाख १७ हजारदेखि ३ लाख १० हजार रूपैयाँमा पाइन्छ। यो एकपटक फुलचार्ज गर्दा १ सय ३० किलोमिटर गुड्छ।
ओला
भारतको विद्युतीय सवारी निर्माण कम्पनी ओला इलेक्ट्रोनिकले सिजी मोटर्सको साझेदारीमा गत वर्ष नेपाल भित्र्याएको हो। यसले नेपालमा छोटो समयमै लोकप्रियता कमाउन सफल भएको छ। हाल नेपालमा ओलाका स्कुटरको मूल्य ३ लाख ५० हजारदेखि ४ लाख ५० हजार रूपैयाँसम्म रहेको कम्पनीले जनाएको छ।
दोहान
यो ब्रान्डका स्कुटर नेपालमा २०२१ मा भित्रिएको हो। चीनमा बनेको यो स्कुटर एकपटक फुल चार्ज गरेपछि १ सय ४० किलोमिटरसम्म चल्छ। यो स्कुटर विभिन्न मोडलमा १ लाख ६० हजारदेखि ३ लाख २० हजार रूपैयाँसम्ममा उपलब्ध रहेको कम्पनीले जनाएको छ। यो स्कुटर फुल चार्ज हुन पाँच घन्टा लाग्छ।
कोमाकी
नेपाली बजारमा कोमाकी स्कुटरले लोकप्रियता कमाइरहेको छ। फुल चार्ज हुन चारदेखि पाँच घन्टा लाग्ने यो स्कुटर एकपटक फुल चार्ज गरेपछि १ सय ५० देखि १ सय ८० किलोमिटरसम्म चल्न सक्छ। हाल नेपालमा यो स्कुटर २ लाख ९५ हजारदेखि ३ लाख ३० हजार रूपैयाँसम्ममा उपलब्ध रहेको कम्पनीले जनाएको छ। त्यस्तै यो ब्रान्डका बाइक नेपालमा ४ लाख ३५ हजार रूपैयाँमा उपलब्ध छ।
लेभ्नेङ
लेभ्नेङ नेपालमा २०२० मा भित्रिएको इलेक्ट्रिक स्कुटर हो। यो ब्रान्डका स्कुटर नेपालमा १ लाख ८५ हजारदेखि ३ लाख रूपैयाँसम्म उपलब्ध छ। कम्पनीका अनुसार यो स्कुटर फुल चार्ज हुन तीनदेखि चार घन्टा लाग्छ। यस कम्पनीको ब्याट्रीको वारेन्टी दुई वर्ष तोकिएको छ।
टेरा मोटर्स
टेरा मोटर्स जापानी कम्पनीद्वारा निर्मित विद्युतीय स्कुटर हो। यो ब्रान्डका स्कुटर नेपालमा एक मोडलमा मात्र उपलब्ध छ। एकपटक फुल चार्ज गरेपछि यो स्कुटर ८० किलोमिटरसम्म कुद्न सक्छ भने यसको ब्याट्री फुल चार्ज हुन सातदेखि आठ घन्टा लाग्ने कम्पनीले जनाएको छ। यसको मूल्य नेपालमा १ लाख ६५ हजार रूपैयाँ तोकिएको छ।